१ नम्वर प्रदेशमा नेकपा एमाले पहिलो पार्टी

झापा । प्रदेश सभाका लागि सम्पन्न निर्वाचनमा प्रदेश १ मा नेकपा एमाले पहिलो पार्टी बन्न सफल भएको छ ।

प्रत्यक्षतर्फ जसपा, राप्रपासित सहकार्यमा निर्वाचन लडेको एमालेले सत्ता गठबन्धनलाई पछि पार्दै प्रदेश १ को ५६ निर्वाचन क्षेत्रमध्ये २५ क्षेत्रमा जित निकालेर पहिलो पार्टी बनेको हो ।

निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम अनुसार कांग्रेसले १७, माओवादी केन्द्रले ९, नेकपा (एकीकृत समाजवादी) ले ३ र राप्रपाले २ क्षेत्रमा जित हात पारेका छन् ।

एमालेले प्रदेशमा समानुपातिक मत पनि सबभन्दा बढी ६ लाख ३२ हजार ७ सय ४ मत प्राप्त गरेको छ । समानुपातिकमा पनि एमालेले १४ प्रदेश सांसद पाउने निश्चित भइसकेको छ । यस प्रदेशस्थित ९३ सदस्यी प्रदेशसभामा प्रत्यक्षतर्फ ५६ र समानुपातिकतर्फ ३७ प्रदेश सांसद निर्वाचित हुने छन् । समानुपातिक मतका आधारमा निर्वाचित हुने प्रदेश सांसदको संख्याका आधारमा एमाले गठबन्धनलाई नै बहुमत प्राप्त हुने देखिएको छ । एमाले गठबन्धनमा राप्रपा र जनता समाजवादी पार्टी सहभागी छन् ।