झापा ३ मा लिङ्देन विजयी: प्रदेश सभामा काँग्रेस एमाले विजयी

भद्रपुर । राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन झापा ३ बाट दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

नेकपा एमालेको सहयोगमा पहिलो पटक २०७४ सालमा निर्वाचित भएका लिङ्देन यस पटक पनि एमालेकै सहयोगमा काँग्रेस उम्मेदवारलाई हराउँदै सांसद बनेका हुन् ।

एमालेसँग चुनावी तालमेल गरी झापा क्षेत्र नम्बर ३ बाट अघिल्लो पटक उम्मेदवार बनेका लिङदेनले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई १३ हजार ४ सय ५५ मतको अन्तरमा हराएका थिए भने यस पटक सिटौलालाई ३ हजार २ सय ७६ मतान्तरले हराएका छन् ।

सिटौला सत्तारूढ गठबन्धनका साझा उम्मेदवार हुन् ।

वडागत हेर्दा राप्रपा र एमालेको मत मिलाउँदा ४२ हजार २ सय ४४ मत थियो भने सत्ता गठबन्धनबाट जसपा बाहिरिँदा गठबन्धनसँग ३२ हजार ६४९ मत देखिएको थियो ।

विकास र उन्नतिमा पछाडि परेको यस क्षेत्रमा यस पटक लिङ्देनले ४० हजार ६ सय ६२ मत ल्याए भने सिटौलाले ३७ हजार ३ सय ८६ मत प्राप्त गरेका छन् । दुई पटक लिङदेन र दुई पटक सिटौला झापा ३ को नेतृत्वमा पुगेको भए पनि स्तर उन्नतिमा अपेक्षाकृत परिवर्त हुनेमा मतदाता नै विश्वस्त छैनन् ।

यस क्षेत्रमा १ लाख ३१ हजार ४३२ मतदाता रहेकोमा ८९ हजार ६३७ मत खसेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिए।

यस्तै प्रदेश सभा तर्फ (क) मा नेपाली काँग्रेसका भूमिप्रसाद राजवंशी विजयी भइसकेका छन् भने प्रदेश ख मा नेकपा एमालेका छविलाल चुडाल विजयी बनिसकेका छन् ।