काँग्रेस महामन्त्री विश्वप्रकाशको सपना अव झापा १ बाट अनुमोदन भइ देश हाक्ने
भद्रपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा तेस्रो पटक झापा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार भएका छन् ।
मङ्सिर ४ गते हुने निर्वाचनका सशक्त उम्मेदवार महामन्त्री शर्माले झापा १ बाट प्रतिनिधित्व गर्दै देश र जनताको समृद्धिको सपना पालेका छन् ।
शर्माले अर्जुन दृष्टि मंसीर ४ मार्फत कागजमा हेर्दा वा कानले सुन्दा आनन्द हुने विकास होइन, आँखाले देख्ने गरीको विकास गरेर देशको समृद्धि दिलाउँने प्रतिबद्धता जाहेर गरेका छन् ।
उत्तरको बाहुण्डागीदेखि दक्षिणको चन्द्रगढीसम्मको समान उन्नतिका लागि विकासको अवधारणा समेत प्रस्तुत गरेका छन् ।
झापाको सदरमुकाम चन्द्रगढीको उन्नतिका लागि चन्द्रगढको स्तर उन्नतिसित चन्द्रगढी वनमा रहेको सिमसार क्षेत्रको विकास गरेर उन्नति पथको मार्गचित्र पेश गरेका छन् । यस्तै समग्र झापाको उननतिसित गाँसिएको चन्द्रगढी विमान स्थललाई पश्चिम तथा उत्तरपट्टिबाट क्षेत्र विस्तार गरी अन्तराष्ट्रिय उडान गर्न सक्ने स्तरमा ल्याउने कार्यक्रम समेत राखेका छन् ।
उनले आश्वासनको नभइ इमान्दारिताका साथ कार्यान्वयन हुन सक्ने राजनीतिक वचन लिएर नेपाली नागरिकालाई सुखी, खुसी, र समृद्धिको यात्रामा लैजान सक्ने गरी भविष्यमा देशको नेतृत्व गर्ने हिम्मतका साथ प्रत्यक्ष निर्वाचनमा तेस्रो पटक होमिएका छन् ।
महामन्त्री शर्मा सुकुम्बासी समस्या समाधान, विभिन्न खोलामा बस्ती जोड्ने पुल निर्माण, नदी कटान नियन्त्रण, पर्यटकीय केन्द्रका स्तरीकरण र झापा १ जोड्ने रिङरोड निर्माण लगायतका स्थानीय विकास र चासोको विषयलाई समेट्ने मतदाता समक्ष प्रतिबद्धता लिएर मतदाताका घरघर पुगेका छन् । उनले जनताले स–साना कुराहरु खोजिरहेका सत्यलाई बुझेरै गर्न सक्ने कुरा मात्र गर्छौं, नसक्ने कुराको सपना नबाँड्ने अभियान नै चलाएका छन् ।
विगतमा पदमा नरहँदा पनि झापा क्षेत्र नं. १ को सडक निर्माण, सामाजिक रुपान्तरण, स्वास्थ्य सेवा लगायतका क्षेत्रका काम गरेका शर्माले मतदाताबाट अनुमोदन भए मेची, निन्दा, हडिया र देउनियाले घेरेको झापा १ को माटोमा विगतका पाहुना प्रतिनिधिले गर्न नसकेका सवै जनसरोकारका काम गर्ने अठोट समेत लिएका छन् । संविधानको रक्षा, लोकतान्त्रिक शासन पद्धतिको विकास र राजनीतिमा सुधार गर्दै सिंह दरवारदेखि नागरिकका आँगनसम्मका विकृति हटाउन शासकीय शैलीमा नीतिगत परिवर्तन नै ल्याउने वचन बद्धता गरेका छन् ।
झापा १ मा मेचीनगर नगरपालिकाका १५ वटै वडा, भद्रपुरको ९, १० नम्बर वडा र बुद्धशान्ति गाउँपालिकाको ४, ५, ६, ७ गरी २१ वटा वडा रहेका छन् । अति दुर्गम बस्तीदेखि सहज बजार क्षेत्रसम्म फैलिएको यस क्षेत्रका बासिन्दा मूल रूपमा कृषि पेशामा आश्रित छन् । यस क्षेत्रमा एक लाख २० हजार ३७५ मतदाता छन् । जमध्ये करिब १३ हजार नयाँ मतदाता थपिएका छन् ।