भद्रपुरमा गठबन्धनको प्रचार आक्रामक शैलीमा बढ्दै
भद्रपुर । स्थानीय तह निर्वाचनका लागि भद्रपुरमा सहकार्य गरिरहेका दलहरूको गठबन्धनले प्रचार प्रसारलाई तीव्र पारेका छन् ।
झापा सदरमुकाम समेत रहेको नेपालको पुरानो नगरपालिकाको ऐतिहासिक पहिचान बनाएको भद्रपुर नगरको समृद्धिको खाका सहित चुनावी मैदानमा उत्रिएका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीको सम्युक्त गठबन्धनले नगरका १० वटै वडा मार्फत समय तालिका मिलाएर प्रचार प्रसार तीव्र गतिमा बढाएकोे हो ।
घरदैलो कार्यक्रम अन्र्तगत नगरबासीको घर घरमा भेटघाट गरिरहेका मेयरका उम्मेदवार गणेश पोखरेलले प्रशासनिक पारदर्शिताका लागि फजुल खर्च अन्त्य गरेर विकास निर्माणका लागि इमान्दार रहने बाचा गरेका छन् । जनप्रतिनिधि विलासी जीवनमा जान नहुने अठोट सहित साधारण जीवन शैलीको माध्यमबाट भद्रपुरबासीको सेवामा जुट्ने बचन समेत दिएका पोखरेलले विभेद रहित सेवा प्रवाहलाई पहिलो प्राथमिकता बनाएका छन् ।
यस्तै उपमेयरका उम्मेदवार शिवकुमार राजभण्डारीले भद्रपुरको विकासका लागि प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकीकरण गर्दै नगर भित्र हुने गरेका भ्रष्टाचार तथा चुहावट रोकेर नगरबासीको जीवन स्तर उकास्न प्रतिबद्ध व्यक्त गरेका छन् । विकट र सुगम बस्तीको जीवन स्तर समान बनाउन समावेशी सहकार्यको सिद्धान्त अपनाउने भन्दै राजभण्डारीले नगर प्रशासनलाई चुस्त, दुरुस्त, पारदर्शी र जवाफदेही बनाउँदै जनताको कामलाई सहज ढंगले सम्पादन गर्न सेवाको प्रकृति हेरी समयावधि समेत तोकेर सेवा प्रवाहमा जुट्ने बाचा गरेका छन् ।
१० वटा वडा रहेको भद्रपुरमा साझा गठबन्धनले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको छ । शिक्षालाई उच्च प्राथमिकता दिँदै शिक्षा क्षेत्रमा कम्तीमा १० प्रतिशत बजेटको व्यवस्था गरिने, सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीको शुल्क क्रमिक रूपमा निःशुल्क गर्दै लैजाने प्रतिबद्धता गरिएको छ । भद्रपुर क्षेत्रभित्र रहेका स्वास्थ्य केन्द्रलाई एमबिबिएस डक्टरको सेवा सहित सबैको भरोसायुक्त एवम् प्रविधियुक्त अस्पतालको रूपमा विकास गर्ने, कृषि, पशुपालन, उद्योग लगायत क्षेत्रमा दीर्घकालिन नीति बनाएर समृद्ध भद्रपुरको सपना साकार पार्ने गठबन्धनका उम्मेदवारहरूले नागरबासीसित प्रतिबद्धता गरिरहेका छन् । वि सं २०४९ सालयता भएका हरेक स्थानीय निर्वाचनमा नेतृत्व सहित बर्चस्व कायम गरिरहेको नेकपा एमालेले इतिहास बोकोको भद्रपुर नगरपालिकालाई गाउँ उन्मुख मृत शहर बनाउन भूमिका खेलेको तथ्यलाई ख्याल गरेर यस पटक नेपाली काँग्रेस नेतृत्वको गठबन्धनलाई जिताउन उम्मेदवारहरूले नगर बासीसित आग्रह समेत गरिरहेका छन् ।