विष्णु काफ्लेलाई समर्थन गर्दै अर्जुन थापाले फिर्ता गरे उम्मेदवारी
भद्रपुर । नेपाली काँग्रेसका युवा नेता अर्जुनकुमार थापाले भद्रपुर १० को वडाध्यक्षका लागि स्वतन्त्र रूपमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।
काँग्रेसका क्षेत्रीय प्रतिनिधि समेत रहेका थापाले नेपाली काँग्रेसको गठबन्धनका सवै पदमा विजय हाँसिल गर्न पार्टीको हितका लागि उम्मेदवारी फिर्ता लिएको भन्दै विज्ञप्ति जारी गरेका छन् ।
वि सं २०४६ सालदेखि नेपाल विद्यार्थी संघ हुँदै काँग्रेस राजनीतिमा सकृय रहेका थापाले आफ्नो व्यक्तिगत स्वार्थभन्दा पार्टीको हित ठूलो भएको ठहर सहित उम्मेदवारी फिर्ता लिएका हुन् ।
थापाद्वरा जारी गरिएको विज्ञप्तिमा भनिएको छ—मिति २०७९ साल बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि भद्रपुर–१० का मतदाताहरुको चाहना अनुसार नेपाली काँग्रेसको तर्फबाट म अर्जुनकुमार थापाले वडाध्यक्ष पदमा दावेदारी प्रस्तुत गरेको सत्य हो । पार्टीका शुभेच्छुक कार्यकर्ताको भावना अनुसार उम्मेदवारी छनौट गर्ने क्रममा मेरो पार्टीप्रतिको लगावको मूल्याङ्कन हुन सकेन । त्यसैकारण वडाबासी मतदाताको भावना अनुसार मैले स्वतन्त्र रुपमा वडाध्यक्षको उम्मेदवारी दर्ता गराएको हुँ । तर पार्टीको जिल्ला, क्षेत्र र केन्द्रका अग्रणी नेताहरुको अनुरोध र आग्रह समेतका आधारमा मैले मेरो आस्था बोकेको पार्टीको गरिमा बचाउन मैले दर्ता गरेको स्वतन्त्र उम्मेद्वारी फिर्ता लिन सहमत भएको हुँ ।
म २०४६ सालदेखि नेपाल विद्यार्थी संघ हुँदै नेपाली काँग्रेसको राजनीतिमा सकृय रहिरहेको छु । मैले व्यक्तिगत जीवनभन्दा पार्टीको हित पहिलो प्राथमिकतामा राखेको अवगत गराउँदै नेपाली काँग्रेस पार्टीको नेतृत्वमा रहेको गठबन्धनका सबै पदका उम्मेदवार विजयी गराउन सम्पूर्ण मतदातासित अपील गर्दछु । मेरो पक्षमा रहनु भएका मेरा शुभचिन्तक, आफन्त र मतदाताहरुप्रति आभार प्रकट गर्दै नेपाली काँग्रेस नेतृत्वमा रहेको गठबन्धनलाई समर्थन गर्दै मेरो उम्मेदवारी फिर्ता गर्दछु । मेरो उम्मेदवारी फिर्ता भए पनि मैले यहि वडामा बसेर वडाबासीको दुःख सुखमा साथ र सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्दछु । भद्रपुर १० का लागि नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार विष्णुप्रसाद काफ्लेको नेतृत्वमा रहेको टिमलाई विजयी गराउन सवै मतदातासित विनम्र अनुरोध समेत गर्दछु भनिएको छ ।