भद्रपुरमा काँग्रेसका तर्फबाट नगर प्रमुखका लागि गणेश पोखरेलको नाम सर्वसम्मत

भद्रपुर । भद्रपुर नगरपालिकामा बलियो जनमत भएर पनि आन्तरिक कलहले नगरपालिकाको नेतृत्व लिन नसकेको नेपाली काँग्रेसले आसन्न स्थानीय तह निर्वाचनमा भने एक भएर जनता माझ जाने संकेत दिएको छ ।

भद्रपुर नगर प्रमुखका लागि ९ जनाले दावी गरिरहेको नेपाली काँग्रेस भद्रपुरमा सवैको सहमतीमा गणेश पोखरेललाई उम्मेदवार बनाउन सिफारिस गर्ने निर्णयले एक भएर स्थानीय तहको निर्वाचनमा काँग्रेस जुट्ने संकेत देखिएको हो ।

नेपाली काँग्रेस नगर पार्टी कार्यलयमा उम्मेदवार छनौट कार्यदलले मेयर पदका लागि आकाँक्षी रहेका व्यक्तिहरू बीचमा राखेको छलफलका क्रममा गणेश पाखरेललाई प्रमुख बनाउन सहमती जुटेको हो ।

भद्रपुर नगर प्रमुखका लागि पूर्व नगर प्रमुख भारतेन्दुकुमार मल्लिक, पूर्व नगर उपप्रमुख भक्त खवास, पूर्व नगर सभापति राजेन्द्रकुमार घिमिरे, नेपाल महिला संघकी पूर्व केन्द्रीय सदस्य गोमाकुमारी भट्टाई, युवा नेता भरत प्रसाई लगायतका व्यक्तिले दावी गरिरहेका थिए । छलफलपछि निष्कर्ष स्वरूप गणेश पोखरेललाई मेयर पदमा उम्मेदवार बनाउन आकाक्षी बीच सहमती भएको कार्यदलका एक सदस्यले जानकारी दिएका छन् ।

नगर समितिको बैठकले पोखरेलको नाम अनुमोदन गरेपछि विहिवार अपह्रान्न मेयर पदको उम्मेद्वारको औपचारिक निर्णय बाहिर आउने समेत जनाइएको छ ।