धनुषकाण खेलको खेलाडी उत्पादनका लागि प्रशिक्षण शुरू

भद्रपुर । सशक्त रूपमा खेलाडी उत्पादन गर्ने उद्देश्यले झापामा आजदेखि धनुकाण खेलको प्रशिक्षण शुरू भएको छ ।

नेपाल आर्चरी संघका राष्ट्रिय अध्यक्ष दिपकराज गुरूङको पहलमा झापा आर्चरी संघले खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ तीन दिने प्रशिक्षण प्रारम्भ गरेको हो ।

पौराणिक कालदेखि खेलिदै आएको यस खेलको संगठन निर्माण भए पनि झापामा खेलाडी उत्पादनका लागि आवश्यक पूर्वाधार नहुँदा खेलाडी उत्पादन गर्न सकिएको थिएन । झापा आर्चरी संघका अध्यक्ष कविन राईका अनुसार “२०७२ सालमै झापामा संस्था गठन भए पनि कोभिड–१९ का कारण आर्चरी संघले कुनै गतिविधि गर्न सकेको थिएन तर अव तालिम दिलाएर भए पनि झापाबाट राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य पूरा गर्ने अभियान थालिएको छ ।”

नेपाल आर्चरी संघका राष्ट्रिय अध्यक्ष दिपकराज गुरूङले झापामा आर्चरी खेलको विकास र विस्तार गर्ने उद्देश्यले आफ्नो तर्फबाट तीन सेट धनुकाण उपलब्ध गराएका छन् । एक सेटमा छ वटा काण (तीर) र एउटा धनु हुन्छ ।

भद्रपुर ८ का वडाध्यक्ष गौरव सुव्वा मनोजको प्रमुख आतिथ्यमा मेची रंगशाला भद्रपुरमा भएको उद्घाटन कार्यक्रममा झापा आर्चरी संघका सचिव दीप पौडेलले सहजीकरण गरेका थिए । अध्यक्ष कविन राईको सभापतित्वमा भएको कार्यक्रममा संघका उपाध्यक्ष शमशेर तामाङले स्वागत मन्तव्य राखेका थिए भने राष्ट्रिय अध्यक्ष गुरुङले खेलको वारेमा जानकारी गराएका थिए । चैत्र १३ गतेसम्म सञ्चालन हुने तालिममा २० जना प्रशिक्षार्थी सहभागी रहेको जनाइएको छ । खेलका राष्ट्रिय प्रशिक्षकहरूले तालिममा प्रशिक्षण दिदै छन् ।