भद्रपुरमा वडा स्तरीय नकआउट भलिबल प्रतियोगिता आइतबारदेखि शुरु

झापा । भद्रपुर युवा परिवारको आयोजनामा भद्रपुर प्रथम रात्रिकालीन वडा स्तरीय नकआउट भलिबल प्रतियोगिता आइतबारदेखि शुरु भएको छ ।

भद्रपुर– ५ स्थित भद्रपुर माध्यमिक विद्यालयको खेल मैदानमा आइतबार भएको उद्घाटन खेलमा वडा नं. ५ र वडा नं. ४ विजयी भएको छ । पहिलो खेलमा वडा नं. ५ ले वडा नं. १ लाई वेस्ट अफ थ्री सेटमा पराजित गरेको थियो । २५–१९, २३–२५ र २५–२१ को स्कोरले वडा ५ सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्यसै गरी दोस्रो खेलमा वडा नं. ४ ले वडा नं. २ लाई सोझो सेटमा हराएको छ । २५–२१ र २५–१८ को स्केरले सोझो सेटमा हराउँदै वडा ४ सेमिफाइनलमा प्रवेश गरेको हो । सोमबारको खेल वडा नं. ९ र १०, वडा नं. ७ र ८, वडा नं. ९ र १० बाट क्‍वाटर फाइनलमा जाने टिम संग वडा नं. ६ र वडा नं. वडा नं. ७ र ८ बाट क्‍वाटर फाइनलमा जाने टिम संग वडा नं. ३ गरी चार वटा खेल हुने आयोजक समितिले जनाएको छ ।

भद्रपुर युवा परिवारका अध्यक्ष बिर्जु सहनीको अध्यक्षता तथा प्रदेश १ का भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा भद्रपुरका मेयर जीवनकुमार श्रेष्ठ, ५ नं. वडा अध्यक्ष बन्धु कार्की, नेपाली काँग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल, माओवादी केन्द्रका शिवकुमार राजभण्डारी लगायतले मन्तव्य राखेका थिए ।

स्वागत मन्तव्य सचिव सिकेन्द्र यादवले राखेको कार्यक्रमको सञ्चालन कृति राईले गरेकी थिइन् । प्रतियोगितामा नगर क्षेत्रका १० वटा वडाले सहभागिता जनाएको छ । विजेता टिमलाई नगद ३५ हजार र उपविजेता टिमलाई नगद २० हजार र सर्वोत्कृष्ट खेलाडीलाई नगद २ हजार र ट्रफिसहित पुरस्कृत गरिने जनाइएको छ ।