फागुन २८ गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने

सन्दर्भ समाचारदाता

बिर्तामोड । झापाका सबै स्थानीय तहमा हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने अभियान फागुन २८ गते शनिबार देखि शुरु भएको छ । स्वास्थ्य कार्यालय झापाले विर्तामोडमा पत्रकार सम्मेलन गरी अभियानको तयारीबारे जानकारी दिएको हो । झापामा यो पटक सञ्चालन गर्न लागिएको अभियान ११ औं चरणको हो ।

यो वर्ष झापामा ८ लाख ४३ हजार जनसंख्या हात्तीपाइलेको औषधी खान योग्य रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । टोल, बुथ तथा घरभेटमै पुगेर औषधी खुवाउने अभियान सफल बनाउनका लागि कार्यालयले ६ सय जना स्वयमसेवक र त्यतिकै संख्यामा स्वाथ्यकर्मी परिचालन गर्ने तयारी भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाँईले जानकारी दिए । झापामा सन् २००१ मा गरिएको रिसर्च अनुसार कुल जनसंख्याको २४ प्रतिशतमा हात्तीपाइले देखिएको थियो । त्यसपछि २०२० मा गरिएको प्रिटेष्टमा २.३३ प्रतिशत जनसंख्यामा हात्तीपाइले देखिएपछि औषधी खुवाउने अभियान पुनः सञ्चालन गर्नुपरेको फोकल पर्सन चौंलागाँईले बताए । उनका अनुसार सन् २०१८ मा सिम्बोलिक रुपमाशनिश्चरे र दमक र कुमरखोदमा प्रिटेष्ट गरिएको थियो । ती ठाउँमा गरिएको प्रिटेष्टमा शनिश्चरेमा १.६४ प्रतिशतमा झरेसंगै शनिश्चरे हात्तीपाईले रोग मुक्त भएको थियो । सन् २०१८ मा २.३ प्रतिशतमा हात्तीपाइले देखिंदा कुमरखोदमा १०.३४ प्रतिशतमा हात्तीपाइले देखिएको थियो । त्यसपछि २०२० मा दमक र कुमरखोदमा गरिएको प्रिटेष्ट रिपोर्ट अनुसार दमकमा ०.६ मा झरेपछि दमक पनि हात्तीपाइले मुक्तको अवस्थामा छ । सोही समयमा कुमरखोदमा २.३३ प्रतिशतमा हात्तीपाइले देखिएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यो पटकको अभियान सम्पन्न भएको ६ महिनापछि दमक र कुमरखोदमा ट्रान्समिसन एसिष्मेन्ट चेकिङ गर्दा २ प्रतिशत भन्दा तल झरेमा मात्रै झापा जिल्ला हात्तीपाईले रोग मुक्त जिल्लाका रुपमा घोषित हुन सक्ने बताइएको छ । हात्तीपाइले मुक्त घोषित हुनका लागि २ प्रतिशत भन्दा तल हुनुपर्छ । झापाका सबै स्थानीय तहका लक्षित वर्गलाई अभियानमा सरिक हुन स्वास्थ्य कार्यालय प्रमुख योगेन्द्र घिमिरेले आह््वान गरेका छन् ।

प्रदेश १ का झापा र मोरङमा हात्ती पाइले विरुद्धको औषधी खुवाउने अभियान देशभरका १२ जिल्लामा फागुन २८ गतेदेखि एकसाथ शुरु हुँदैछ । यसअघि यो अभियान देशभरका ६४ जिल्लामा सञ्चालन गरिएको थियो ।