खानेपानीमन्त्रीले दक्षिणी झापाका अधुरा आयोजना पूरा गर्ने प्रतिबद्धता जनाए
भद्रपुर । खानेपानी मन्त्री उमकान्त चौधरीले आगामी बैशाख सम्ममा मेलम्चीको पानी काठमाण्डौ उपत्यकामा सहज वितरण हुने बताएका छन् ।
झापा आइपुगेका मन्त्री चौधरीले झापा क्षेत्र नम्वर ३ अन्र्तगतका विभिन्न अलपत्र खानेपानी आयोजनाको स्थलगत अनुगमनका क्रममा बोल्दै गत भदौको बाढीले क्षतविक्षत भएको मेलम्ची आयोजनाको क्षति यकिन भइसकेकाले पुनरनिर्माण तीव्र पारिने भन्दै बैशाखमा काठमाण्डौमा पानी आइपुग्ने दावी गरेका हुन् ।
चौधरीले काँग्रेस नेता कृष्णप्रसाद सिटौलाका पालामा निर्माण सुरू भएका तर ओली सरकारका पालामा स्वामित्व ग्रहण नगरिँदा अलपत्र परेका आधा दर्जन बढी खानेपानी आयोजनाको स्थलगत अनुगमन गरी निर्माण सुचारूको प्रतिबद्धता जनाएका छन् ।
खानेपानी संस्थान भद्रपुरबाट स्थलगत अनुगमनमा निस्किएका मन्त्री चौधरीले दिनभर झापा क्षेत्रनम्वर ३ अन्र्तगतका पृथ्वीनगर, बनियानी, बालुवाडी, केचना, पथरिया, राजगढ लगायतका स्थानमा निर्माण अलपत्र रहेका खानेपानी आयोजनाको अवस्था बारे जानकारी लिएर समस्या हल गर्ने प्रतिबद्धता जनाएका छन् ।