भद्रपुर भन्सारबाट मुआब्जा नपाएको भन्दै पीडितद्वारा नारावाजी

भद्रपुर । भद्रपुर भन्सार कार्यालयको नयाँ भवन निर्माणका लागि २०७६ सालमा अधिग्रहण गरिएको जग्गाका धनीहरूले कवोल गरिएको मुआब्जा नपाएको भन्दै भन्सार परिसरमा तालाबन्दी प्रयास गरेका छन् ।

नेपाल सरकार अर्थ मन्त्रालय अन्र्तगतको भन्सार विभागले २०७६ सालमा जिल्ला प्रशासन कार्यालय मार्फत जग्गा रोक्काको सूचना जारी गरी मुआब्जा दिने निर्णय गरेको भए पनि दुई वर्ष पूरा हुँदा समेत पाउनु पर्ने क्षतिपूर्ति रकम नपाएको भन्दै पीडितले भद्रपुर भन्सार कार्यालयमा तालावन्दी प्रयास गर्दै नारावाजी गरेका हुन् ।

मुआब्जा पीडित बसन्तराज तुलाधरको नेतृत्वमा भेलाभएका पीडितहरूले जग्गा ओगट्ने भद्रपुर भन्सार कार्यालयमा तालाबन्दी गर्ने निर्णय गरेको थियो तर भन्सार सुरक्षाका लागि तैनाथ नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको टोलीले आन्दोलन कारीलाई मुख्य प्रवेशद्वारमा रोकेपछि त्यहीबाट नारावाजी गर्दै आफ्नो घर जग्गाको मुआब्जा अविलम्व उपलब्ध गराउन दवाव दिएर घण्टौं धर्ना बसेका थिए ।