काँग्रेसले १८ अनुहार सम्झनै पर्छ ः प्रवक्ता शर्मा

मेचीनगर । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली काँग्रेसले अब काँग्रेसलाई मात्रै सम्झेर नहुने बताएका छन् । । उनले महाधिवेशनको क्रममा रहेको काँग्रेसले १८ अनुहार बिर्सिन नहुने बताए । काँग्रेसको महामन्त्रीमा उम्मेद्वारी घोषणा गरेका शर्माले पार्टीको भावी कार्यक्रम र योजनामा अनिवार्य रुपमा विभिन्न १८ वटा बिषय र क्षेत्रलाई समेट्नु पर्ने भन्दै ति क्षेत्रलाई अनुहारको संज्ञा दिएका हुन् । शर्माले १४ औं महाधिवेशनबाटै कांग्रेसले यी विषय अघि बढाउनु पर्नेमा जोड समेत दिए ।

‘पार्टीको महाधिवेशनले नेतृत्व मात्र छान्छ कांग्रेसले अरु केही गर्दैन भन्ने कुरा बारम्बार उठ्छ, अब त्यो अन्त्य गरिनै पर्छ’ झापा मेचीनगरका विजेतालाई प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण कार्यक्रममा शर्माले भने, ‘मत दिने र नदिने मात्र होइन, राजनीतिबाट टाढा रहनेलाई पनि कांग्रेसले सम्झनु पर्छ ।’ ‘काँग्रेस एउटा राजनितिक दल मात्र होईन यो आत्मा पनि हो’ उनले भने, ‘हरेक मानिसको आत्माको धडकनलाई काँग्रेसले स्मरण गर्ने पर्छ ।’ अब कांग्रेसले कांग्रेसलाई मात्र सम्झेर नपुग्ने शर्माले धारणा राखे ।

शर्माले आफ्नो गृहनगर धुलाबारीमा बेरोजगार र वैदेशिक रोजगारमा गएको जनशक्ति, भूमिहीन, स्वास्थ्य पहुँचमा नभएको समूदाय, किसान श्रमिक, विद्यार्थी शिक्षक प्राध्यापक, सहिद तथा घाइते, जायज माग उठाउने वर्ग, पत्रकार, लेखक साहित्यकार, चिकित्सक, सुरक्षाकर्मी, पुरानो पुस्ता लगायत १८ अनुहारलाई काँग्रेसले सम्झ नै पर्ने बताए ।

भ्रष्टाचार र सामाजिक बिकृति विसंगति विरुद्ध लड्ने स्पष्ट खाका र रणनीति पार्टीले तय गर्नु पर्नेमा शर्माले जोड दिए । असोज ३ गते गृहजिल्ला झापा आएर राजनैतिक परिवर्तन सम्बन्धि २४ बुँदे अवधारणा सार्वजनिक गरेका प्रवक्ता शर्माले दुई सातापछि गृहनगर धुलाबारीबाट १८ बुँदे कार्यक्रम तथा योजना अघि सारेका छन् । आफूले अघि सारेका कार्यक्रम पुरा गर्न सके नवीन कांग्रेस बनाउन कसैले रोक्न नसक्ने उनले दावीसमेत गरे । ‘हामीले कुरा मात्रै गर्यौं, काम गरेनौं’ शर्माले भने, ‘खाका बनाएर काम गर्न सके १५ वर्षमा धेरै काम गर्न सम्भव छ, राजनीति परिवर्तनको आभास नागरिकलाई अवस्य दिलाउन सकिन्छ ।’ लोकतन्त्रको बिकल्प लोकतन्त्र भए जस्तै कांग्रेसको बिकल्प कांग्रेस नै भएको शर्माको तर्क छ ।

राजनीतिक दल र तिनका नेताले देशभन्दा पनि संसद, मन्त्री र प्रधानमन्त्री बनाउँदैमा समय खर्चिएको स्वीकार गरेका उनले अब त्यसमा समय खर्चेर जनताको निराशा चिर्न नसकिने बताए । पाकाको आँखामा आँसु नआउने अवस्था र भूमिका नपाएकाले भूमिका पाइनँ भन्ने अवस्था रहेसम्म पार्टी सशक्त नहुने उनको भनाइ छ । विश्वप्रकाश र कृष्णप्रसाद सिटौलालाई जिताउन नसक्ने कांग्रेसले झापामा केपी ओलीसँग जुध्न नसक्ने उनको तर्क छ ।