भद्रपुरका कालोपत्रे किन उक्कन थाले ?
वि सं २००८ सालमा नगरपालिकाका रूपमा घोषणा भएको भद्रपुर नगरपालिका पूर्वको सवल नगरका रूपमा चिनिने जेष्ठ नगरपालिका थियो । यो इतिहाँस वि सं २०३० साल पछाडि सवलताको सट्टा दुर्वल नगरमा परिवर्तित हुँदै गयो । कारण खोजी गर्ने हो भने भद्रपुरको दुर्वलतासित पूर्व पश्चिम राजमार्गको छाँया जोडिन आउँछ । उत्तरमा भारतसित जोडिने मेची पुल बन्नु अनि पूर्व पश्चिम राजमार्गले पनि छुन नसक्नु भद्रपुर नगरको आर्थिक उन्नति घटेर नगरबाट गाउँ उन्मुख शहरमा सिमित बन्नु परेको इतिहास छ । हुन त भद्रपुर जस्तै नियतिमा परेका नेपालका तराइ भित्रका २० वटा शहरहरू पनि रहेको तथ्य जिवित नै छ । १२ फिट भन्दा कम चौडाइ भएका सडक निर्माण गरिएका भद्रपुर नगर समयान्तरमा गाउँको स्ततमा पुगेको हो । यस नगर लगायत तराइका पुराना शहरहरुलाई मृत स्वरुपको नियतिबाट मुक्त गर्न स्तर उन्नतिका लागि पहिलो आधारका रूप सडक विस्तार र स्तरीकरण गर्ने सोचका साथ सघन शहरी विकास योजना ल्याइएको थियो । सघन शहरी विकासको काम नै साना साँघुरा सडकहरूलाई फराकिला र ठूला बनाउने हो । आफ्ना घर अगाडि बन्दै गरेका सडकका पर्खालहरू प्रश्नै प्रश्नका घेरामा पारेर नगरबासी बस्न बाध्य भएका छन् । घर अगाडिका सडकका निर्माणले स्थानीयलाई खुसी भन्दा पिर बढाइरहेको छ । अस्तव्यस्त सडक, गुणस्तरहीन पर्खाल, कालोपत्रे जस्ता संरचनाले जुनसुकै बेला दुर्घटना हुने चिन्ता स्थानीयमा परिरहेको छ । घर अगाडि निर्माण सम्पन्न भएका फराकिला कालापत्रे सडकहरू सम्पन्न भएको केही महिनायता खाडल पर्न थालिसकेका छन् । नयाँ सडकको खाल्डाहरूले गुणस्तरमाथि प्रश्न उठाइरहे पनि नियामक रमिते मात्र भएको विडम्बना छ ।
५ वर्ष भित्र भद्रपुर नगरका सवै सडकहरू आधुनिक शहरको मापदण्ड अनुसार स्तरीय भइसक्ने विश्वास लिइएको यस आयोजनाले दीर्घकालिन लक्ष्य पूरा गर्न सक्नेमा आशंका पैदा गराएको छ । यस आयोजना अन्र्तगत अघिल्ला चार आर्थिक वर्षमै काम सुरु भएका केही सडक स्तरीकरण योजनाका नाली निर्माण तथा कालोपत्रेका कार्य सुरुवात चरणमा नै विवादमा आए पनि राजनीतिक सहमतिमा रातारात मिलाएर कमिसन बाँडेको आरोप भद्रपुरका दलहरुलाई लागेको थियो । त्यतिबेला पहिलो पटक चन्द्रगढीको लेखनाथ चौकदेखि महेशपुरको मन्त्री चौकसम्म जोड्ने भद्रपुर नगरको फाष्टट्रयाकका रूपमा परिचित यो सडकको नाली बन्दा बन्दै ढल्यो । गुणस्तरको आवाज उठाउने स्थानीय नागरिक विचरा भएर आफ्ना घर अगाडिका कमजोर सडक संरचना हेर्न बाध्य बन्नु परेको थियो । अहिले तेस्रो र चौथो चरणमा निर्माण भइरहेका सडक कालोपत्रे र नालीको काम स्तरहिन भएको देखिन थालेको छ । यस कार्यक्रम अन्र्तगत ६ वटा प्याकेज भित्र २५ वटा योजनाका कामहरू पक्की नाला निर्माण सहित सडक कालोपत्रे गर्दै विस्तार भइ रहेको छ । भद्रपुर नगरमा सडक विस्तारका काम गरिरहेका ठेकेदार कम्पनीलाई कमसल निर्माण सामग्री प्रयोग गरेको, तोकिएको अनुपातमा पर्खाल नलगाएर साँघुरो शैलीमा काम गरिरहेको, ढलान गर्दा गिटी, बालुवा र सिमेन्टको परिणाम नमिलाएको, कालोपत्रे गर्दा अलकत्रोको परिणाम कम लगाएको आरोप लागेको छ । तर ठेकेदार कम्पनीका पक्षधरहरू सघन शहरी विकास तथा भवन निर्माण डिभिजनको निर्देशनमा गुणस्तरीय काम गरिरहेको जनाउँ दिइ रहेका छन् । बन्दा बन्दै सडकका नालाका पर्खाल चर्किरहेको, कालोपत्रे उक्किएका दृष्यले गुणस्तरहिनताको पुष्टि गरिरहेको छ । नियामक कता हराए ? पचासौं वर्षको यात्रा झेल्ने सडक नाली दुईचार वर्षमै ढल्ने, कालोपत्रे एक वर्ष पनि नटिक्ने गरी निर्माण भइरहँदा गुणस्तरीयता खोजिनु पर्दैन त ? कमिसनमा होइन विकास निरन्तरताका लागि हो । नियामक इमान्दार भएर हेर । गुणस्तरीयता कायम राख । अनि मात्र सघन शहरी विकास हुन्छ । जनताको पहिलो सरकार भद्रपुर सरकारको नजर परेको पनि निर्माण स्थलमा देखिदैन । फराकिला कालोपत्रे सडक एक वर्ष पनि नटिक्दै किन उक्कन थाले ? सघन शहरी विकासको काम यस्तै हो ? नगरबासी प्रश्न गरिरहेका छन् ।