भारतले नमानेपछि सीमा नाका सञ्चालनमा आउन सकेन
सन्दर्भ समचारदाता
भद्रपुर । जिल्ला प्रशासन कार्यालय झापाले १५ असोजबाट काँकडभिट्टा र भद्रपुर नाका खुला गरेको घोषणा गरे पनि भारतले नमानेपछि सीमा नाका सञ्चालनमा आउन सकेन । गृह मन्त्रालयबाट नाका खुलाउने सम्बन्धमा परिपत्र आएकोले काँकडभिट्टा र भद्रपुर नाका खुलाउन लागेको झापाका प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले हिजो बताएका थिए । नाका खुलाएको समाचारले उत्साहित बनेका नाका निकटवर्ती जनता भद्रपुरको मेचीपुलहुँदै भारततर्फ जानलाग्दा भारतीय सुरक्षाकर्मीले रोके पछि निरास बनेका थिए । नेपालले एकतर्फी नाका सञ्चालन गर्ने निर्णय गरेपनि भारतीय एसएबसीले माथिको आदेश नआएको भन्दै भद्रपुर–गलगलिया नाका बन्द राखेको छ ।
भद्रपुर नाका नखुलेपछि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले शुक्रबार बिहान विहार किशनगञ्जका डिएम कुमार आशिससँग फोन सम्पर्क गरेका थिए । किशनगञ्जका डिएम आशिसले नाका खुलाउने विषयमा आफूलाई पनि कतैबाट आदेश नआएको र नेपालले गरेको निर्णय पठाइदिन आग्रह गरेको प्रजिअ तिमिल्सिनाले बताए । आज जिल्ला प्रशासन कार्यालय झापाले डिएम आशिसलाई नाका सञ्चालन गर्ने बारेको निर्णय पठाइसकेको बताउँदै प्रजिअ तिमिल्सिनाले भने, ‘किशनगञ्जका डिएमले नाका खुलाउने विषयमा सहजीकरण गर्ने जनाएको छ । त्यसका लागि उहाँले एक÷दुई दिनको समय माग्नु भएको छ ।’
यसैगरी काँकडभिट्टा नाकामा पनि भारत सरकारले पानीट्याङ्की नाका नखुलाएकोले आवागमन सहज हुन सकेन । पश्चिम बंगाल सरकारले खोप कार्ड देखाएर मात्र नेपाल आउन दिईरहेको छ । यस बारेमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी सुनिलसिंह दाहालले भारतको पश्चिम बंगाल सरकारसँग छलफल गरेर उताको नाका पनि खुलाउन पहल गरिने जानकारी दिए ।