राजनीतिमा परिवर्तनको आवश्यकता

बिर्तामोड । नेपाली काँग्रेसका प्रवक्ता तथा महामन्त्रीका उम्मेद्वार विश्वप्रकाश शर्माले अबको समय राजनीतिमा परिवर्तनको आवश्यकता भएको बताएका छन् । आज झापाको बिर्तामोडमा आयोजित सभालाई सम्बोधन गर्दै नेता शर्माले भने, ‘हिजो राजनैतिक परिवर्तनका लागि लड्यौं अब राजनितिमा परिवर्तन आवश्यक भएको छ ।’

काँग्रेसको १४ औं महाधिवेशनका लागि महामन्त्री पदको उम्मेद्वारी घोषणा गरे पछि पहिलो पटक गृह जिल्ला झापा आएका नेता शर्माले ‘हिजो राजनैतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन’ बिषयमा २४ बुंदे अवधारणा पत्र समेत प्रस्तुत गरेका थिए ।

राजनीतिमा परिवर्तनका लागि पहिलो पटक अवधारणा प्रस्तुत गर्दै नेता शर्माले राजनीतिमा सहिष्णुता हराउँदै गएको प्रति चिन्ता ब्यक्त गरे । वनले भने, ‘नेपाली राजनीतिमा सहिष्णुता हराउँदै गएको छ, सहिष्णुता हाराउँदै गयो भने लोकतन्त्र टिक्न सक्दैन ।’ लामो संघर्ष पछि प्राप्त भएको संविधानको ब्यवस्था कम्तिमा संविधानका निर्माताहरुले अक्षरस पालना गर्नु पर्ने शर्माले बताए । ब्यवस्था ठिक छ, अब त्यसमा बिद्यमान अब्यवस्थालाई अन्त्य गर्नु पर्ने काँग्रेस नेता शर्माले बताए ।

देशमा गणतन्त्र ल्याईयो, तर गनतन्त्रको अनुभूति पाउन सकिएन । गणतन्त्रात्मक न्याय आम जनाताले पाउन सकेनन् । निमुखा जनताका मनमा लागेका कुरा, अथवा पाउनु पर्ने न्यायका लागि सिफारिस गरिदिने नेता या उच्च पदस्थ ब्यक्ति नभएमा उनीहरुको सुनुवाई हुँदैन । अनि कसरी सार्वभौम सत्तासम्पन्न जननता भए ? भन्ने प्रश्न ठड्याउँदै शमाले भने, गणतन्त्रमा त जनता सार्वभौम सत्तासम्पन्न हुनु पर्ने हो । अतः हाम्रो व्यबस्था ठीक् छ, तर यसमा भएका अव्यवस्था हटाउन आवश्यक छ ।

शर्माले प्रस्तुत् गरेको अवधारणा अनुसार, राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र चार पटक सांसद हुन पाइने ब्यवस्था संविधानमा नै सुनिश्चित गर्न सके राजनीतिमा उमेरको प्रसङ्ग नआउने धारणा ब्यक्त गरेका थिए ।

स्वर्गीय सिके प्रसाईं, तुर्सा हेम्ब्रमजस्ता बिपिको समाजवादी चिन्तनको सम्बाहको गृह जिल्ला झापा भएको र मेरो पनि गृह जिल्ला भएकोले यहीबाटै मैले वहाँहरुको आदर्शमा हिडे्ने प्रणकासाथ महामन्त्रीको उम्मेदवारी दिने घोषणा गरेको बताए ।

महाधिवेशन सदस्य सुरेश सुब्बाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांगे्रस झापाका उपसभापति राम कट्टेल, केन्द्रिय सदस्य दिलिप राई र महासमिति सदस्य नौतली राजबंशीले मन्तब्य राखेका थिए । स्वागत बुद्घशान्ति गाउँपालिका प्रमुख रमेश भूजेलले गरेका थिए भने कार्यक्रम संचालन जिल्ला सदस्य तेजप्रसाद चौंलागाईंले गरेका थिए ।