नेपाली राजनीति धमिलिनु हुँदैन
प्राचीन वैदिक कालदेखि नै नेपाल सुन्दरता र सभ्यताले भरिपूर्ण रूपमा शान्तिप्रिय देशको परिचय बनाउन सफल छ । यहाँ विभिन्न धर्म, संस्कृति र परम्परा मान्ने मानिसहरू बसोबास गर्ने गर्दछन् । जुन जात, धर्म, संस्कृति, भाषा र सभ्यता माने पनि नेपालीहरू एकताबद्ध भएर सामूहिकता कायम गर्न सफल छन् । हिमाल, पहाड र तराई समेटिएको भूगोल मिलेर निर्मित नेपालमा प्राकृतिक विविधता पनि देख्न पाइन्छ । जहाँ र जुन रूपमा रहे पनि नेपालीहरूमा सामाजिक र धार्मिक सहिष्णुता भने जिवन्त रहने गरेको छ । यस कुरालाई नेपालको राजनीतिले बुझ्न नसकेको हो कि जान्न नचाहेको हो ? प्रश्न खडा भएको छ । सत्ता र शक्तिमा अलमलिएको नेपाली राजनीति विवेकहीन बन्ने प्रयत्नमा लाग्दा विदेशी हस्तक्षेप र हेपाहा प्रवृत्ति तीव्र गतिमा बढिरहेको छ । पछिल्लो पटक भारतीय हेलिकप्टर नेपाली भूमिमा विना अनुमति घण्टौं उड्नु, महाकाली नदीमा तुइन काटेर नेपाली नागरिक बेपत्ता पारिनु जस्ता आपराधिक घटनाको प्रतिवाद गर्न नसक्नुले नेपालको राजनीति विवेकहीन बाटोमा अलमलिएको प्रष्ट भएको छ । सरकारमा बसेका दल हुन् या प्रतिपक्षमा रहेका दल नेपाली सभ्यता र नेपालीपन बचाउनतिर होइन सत्ता र शक्तिको जोड घटाउले विवेक गुमाउँदै छन् । दलीय स्वार्थ बचाउन देशको स्वार्थ लुकाउँन वा नामेट पार्न समेत पछि नपर्ने राजनीतिले नेपालको अस्तित्व कसरी बच्ला त ? गम्भीर प्रश्न खडा भएको छ ।
नेपालमा एउटा जात वा धर्मको मानिसले अर्को जात वा धर्म मान्ने मानिसको समूहलाई सम्मान गर्ने परम्परा छ । विविध जात, धर्म, भाषा, भेष, संस्कार संस्कृति रहेको नेपाली समाज परम्परादेखि अहिलेसम्म सधैं एक भएर रहिरहनु गर्वको कुरा हो । यो सवै नेपालीहरूको आपसी सदभाव सहिष्णुताको कारणले संभव भएको छ । यो देश सीता, जनक, भृकुटी, गौतमबुद्ध, पृथ्वीनारायण शाह जस्ता माहान व्यक्ति जन्मे हुर्केको देश भएको कारण पनि सामाजिक र धार्मिक सहिष्णुता कायम हुन सकेको छ । बहुल जात, धर्म, प्राकृतिक विचित्रता, मठ, मन्दिर, गुम्बा, पाटी, पौवा, दरवार भएको नेपालमा यिनै विचित्रता भरिएको छ । यहाँको समाज र धर्म आपसी एकतामा रहन सक्नु नै सहिष्णुता कायम हुनु हो । तर, पछिल्लो समय राज्यको नीतिगत नेतृत्व लिने दलहरू यहाँको विचित्र परम्परामाथि नजर अन्दाज गरिरहेका छन् । दलीयता, जातीयता, धर्मका नाममा निषेध गरेर नेपाली राजनीति आपसमा लड्ने तरखर गर्दै गर्दा परम्परागत उपलब्धी मासिदै छन् भने स्वाधीनता र सार्वभौमिकता लोप हुने तरखरमा छ । जसको असर वैदेशिक हस्तक्षेप, छिमेकी राष्ट्रको हेपाहा प्रवृत्ति र प्राकृतिक न्याय विपरितका गतिविधि बढ्न थालेका छन् । यस किसिमका छिमेकी देशका हेपाह प्रवृत्ति रोक्न नेपाली राजनीति संलिनु पहिलो आवश्यकता हो । नेपाली राजनीति धमिलिने हो भने विदेशीको दास भएर बाच्नु पर्ने छ । सामाजिक र धार्मिक सहिष्णुता हराएर शक्ति मोहको राज हुने छ । त्यसैले परम्परादेखिको नेपाली सभ्यता बचाउन पनि नेपालको राजनीति धमिलिनु हुँदैन । राजनीति कुरूप भयो भने देश र जनताले दुःख पाउनु पर्ने विडम्बना आइलाग्छ भने राष्ट्रियता र स्वाधीनता बच्न सक्दैन । यसैले पनि नेपाली राजनीति संलिनु पर्छ ।