काँकडभिट्टा नाकाबाट भारतीय नागरिकलाइ प्रवेश सहज

भद्रपुर । पूर्वी नाका काँकडभिट्टाबाट आजदेखि भारतीय नागरिकलाई खोप कार्ड वा पीसीआर नेगेटिभ रिपोर्टका आधारमा नेपाल प्रवेश गर्न अनुमति दिइएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आवश्यकता र औचित्यका आधारमा आजदेखि कोरोना विरुद्धको खोप लगाएको कार्ड र पीसीआर नेगेटिभ रिपोर्ट भएका भारतीय नागरिकलाई नेपाल आउन दिइएको बताए । “केन्द्रबाट लिखित अनुमति आउन बाँकी छ”, प्रजिअ तिम्सिनाले भने ।

यसअघि काँकडभिट्टा नाकामा भारतीय लगायत विदेशी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको थियो । लामो समय नाका बन्द हुँदा व्यापार व्यवसायमा गम्भीर असर परेको भन्दै, मेची उद्योग वाणिज्य सङ्घ र होटल व्यवसायी सङ्घले नाका खुलाउन गत आइतबार सत्तारुढ नेपाली कांग्रेस पार्टीका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्मा र मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई भेटेर नाका खुलाउन पहल गरिदिन भन्दै ज्ञापन पत्र बुझाएका थिए ।

काँकडभिट्टा नाका प्रयोग गरेर भारत जाने नेपालीलाई भने पीसीआर नेगेटिभ रिपार्ट र कोरोना विरुद्धको खोप कार्डका आधारमा पहिल्यैदेखि अनुमति दिँदै आएको थियो । झापाको काँकडभिट्टाबाहेक अन्य नाका भद्रपुर, गौरीगन्ज, कुञ्जिबारी, टाघनडुब्बा र केचना नाका बन्द अवस्थामा रहेका छन् ।