मृगौला रोगसित लड्दै भद्रपुरका दुई शिक्षक
भद्रपुर । लामो समय शिक्षण सेवामा रहेर योगदान दिएका भद्रपुरका दुई शिक्षक मृगौला रोगका कारण जीवनका कठिन मोडमा बाँचनका लागि संघर्ष गरिरहेका छन् ।
भद्रपुरका पुराना शिक्षक मोहम्मत बदरूद्दिन तथा गीताकुमारी भण्डारी दुवै मृगौला फेल भएर प्रत्यारोपण गर्नुपर्ने अवस्थामा जीवन बचाउने संघर्षमा पुगेका हुन् ।
दुवै मृगौला फेल भएर संघर्षपूर्ण जीवन व्यतीत गरिरहेका शिक्षकद्वय मृगौला प्रत्यारोपणमा समेत विभिन्न अड्चन भोग्न बाध्य हुनु परेको छ । मृगौला भेट्न गाह्रो, भेटिए पनि प्रत्यारोपण गर्न कानुनी अड्चनले दुवै शिक्षकको जीवन जटिल मोडमा पुगेको हो ।
भद्रपुर–चन्द्रगढीका विभिन्न विद्यालयमा शिक्षण सेवा दिएका शिक्षक बदरूद्दिनको जीवन जटिल अवस्थामा छ । उनलाई मृगौला प्रत्यारोपण गर्न पारिवारिक दातानै चाहिने कानुनी प्रावधान अनुसार पत्नी असमति वेगमले मृगौला दिन खोज्दा उनको शरीरमा एउटा मात्र मृगौला भएको खुलासा भए पछि बदरूद्दिन परिवार प्रत्यारोपण गर्ने मृगौला नपाएर थप चिन्तामा परेको छ ।
यस्तै मृगौला पीडित चन्द्रगढी स्थित वीरेन्द्र माविकी शिक्षक गीताकुमारी भण्डारीको पीडा पनि कम जटिल छैन । नेपालको कानुनी अड्चनकै कारण उनले पाएको दाताबाट नेपालमै मृगौला प्रत्यारोपण गर्ने अवस्था गुमेको छ । नेपाल बाहिर मृगौला प्रत्यारोपण गर्न लाग्ने खर्च धान्न समेत कठिन हुने अवस्थाले भण्डारीलाई अर्को अड्चन पपिएको अवस्था छ ।
मृगौला रोगबाट पीडित दुवै शिक्षक समाजका लागि विर्सन नसक्ने सम्पत्ति भए पनि जीवन बचाउन के गरी संभव हुन्छ सोच्नु पर्ने समय आइसकेको आफन्तहरूको भनाइ छ ।