जंगली हात्तीले धानखेतीमा क्षति पुर्यायो
भद्रपुर । पूर्र्वाेत्तर झापाको बाहुनडाँगीमा विद्युतीय तारबार नाघेर भित्रिएको जंगली हात्तीले धानखेतीमा क्षति पुर्याको छ । हात्तीले अहिले लहलह हुर्किदै गरेको धानको बोट नै खान थालेको मेचीनगर नगरपालिका वडा नं. ४ का शंकर लुइँटेलले बताए । उनका अनुसार आज विहान आएको एउटा हात्तीले स्थानीय भैरवबहादुर गौतमको धानखेत खाएर नष्ट गरेको हो । हात्तीले भर्खरै सरेको धानको रोपा सुँढले तानेर गुबो खाने गरेको छ । स्थानीय सन्तोष न्यौपानेको पक्की घरको झ्याल र ढोका भत्काएको छ ।
कहिले हुल बाँधेर र कहिले एक्लै दोक्लै आउने हात्तीले साँझदेखि विहानसम्म बाली खाएर क्षति पुर्याउन थालेपछि स्थानीय किसान चिन्तित बनेका छन् । पीडित भैरबबहादुर गौतमले चार कठ्ठा खेतको रोपो धान एकै मेलोमा खाएर बर्बाद गरिदिएको बताए । उनले हात्ती खेद्ने संयन्त्र नहुँदा किसान मारमा परेको गुनासो गरे । सरकारले सीमा क्षेत्रमा विद्युतीय तारबार लगाए तापनि तारबार भत्किएका ठाउँबाट हात्ती छिर्ने गरेको छ । हात्ती र कोरोनाको आतंक एकैपटक आइलागेको कारण ज्यान जोगाउने कि बाली भन्ने समस्या उत्पन्न भएको अर्का हात्ती पीडित सन्तोष न्यौपाने बताए । हात्ती संरक्षण अभियानमा समेत जुट्नुभएको स्थानीय शंकर लुईटेलले छ बर्ष अघि मेची नदी किनारमा गरिएको विद्युतीय तारबारमा मर्मत सम्भारको आवश्यकता औल्याए ।