आधा काम नसकी पूरै भुक्नानी गरेको आरोप
भद्रपुर । कचनकवल ३ स्थित राजवंशी समाज विकास समितिको भवन निर्माणको रकम काम भन्दा बढी भुक्तानी गरेर प्राविधिकले ठेकेदार पोषेको स्थानीयले आरोप लगाएका छन् ।
प्रदेश १ सरकारको शसर्त अनुदान तथा गाउँपालिकाको साझेदारीमा निर्माण भइरहेको भवनका लागि यस वर्ष ६६ प्रतिशत काम पूरा भएको विवरण बनाई गाउँपालिकाले ५० प्रतिशत पनि काम नगरी रकम भुक्तानी गरेको स्थानीयले आरोप लगाएका हुन् ।
एक करोड ३० लाख निर्माण लागत रकम स्वीकृत आयोजना रहेको सो भवन निर्माणका लागि ६०÷४० को सहकार्यमा निर्माण सम्पन्न गर्ने सर्त सहित काम अगाडि बढेको थियो ।
प्रदेश १ लेखा इकाई कार्यालय झापाको विवरण अनुसार यस आर्थिक वर्षमा गाउँपालिकाले भवन निर्माण वापत तीन किस्ता गरी असार मसान्तसम्ममा एक करोड रकम निकासा लगिसकेको छ । ६६ प्रतिशत काम सम्पन्न भएको प्राविधिक टोलीले तयार पारेको प्रगति विवरण पेश गरी रकम लगेकाले काम पूरा भएको विश्वास लेखा कार्यालयले राखेको छ ।
यता नेपाल पुर्वाधार कन्ट्रक्सन ललितपुरले सो भवन निर्माणका लागि भ्याट सहित ८३ लाख ४० हजार ४ सय ६५ पैसामा मात्र ठेक्का कवोल गरी कामको जिम्मा लिएको देखिएको छ ।
स्थानीय हरि बस्नेत भवन निर्माणमा प्राविधिक पक्षले ठूलो आर्थिक चलखेल गरेर आधा काम पनि सम्मपन्न नहुँदै पूरै रकम भुक्तानी लिएको प्रष्ट देखिएको बताउँछन् । उनले गाउँपलिकामा सो भवनको प्रगति विवरण तथा भुक्तानी बारे तथ्याङ्क माग्दा नदिएको गुनासो समेत गरेका छन् ।
यस्तै नेपाल तरुणदल झापा क्षेत्र नम्बर ३ का सभापति खड्गबहादुर लिम्बू सो भवन निर्माणमा चरम भ्रष्टाचार भएकोले अविलम्ब छानविन गरी कारवाहीको माग गर्छन ।