धाराबाट माटो मिसिएको कालो लेदोसहितको पानी
भद्रपुर । झापाको चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिअन्तर्गत सञ्चालित दोस्रो खानेपानी ट्याङ्कीबाट वितरित पानी दूषित भएको स्थानीय उपभोक्ताहरूले बताएका छन् । विगत १ महिनादेखि हप्तामा ३–४ दिनसम्म निरन्तर माटो मिसिएको कालो लेदोसहितको पानी धाराबाट आउने गरेको उनीहरूको गुनासो रहेको छ । प्रथम ट्याङ्कीबाट वितरित पानीमा अहिलेसम्म कुनै समस्या नदेखिए पनि नवनिर्मित ट्यांंकीबाट वितरित पानी भने खानयोग्य नभएको भद्रपुर १० स्थित शहीद चौक निवासी आम उपभोक्ताहरूको गुनासो छ । खानेपानीमा यस्तो समस्या देखिएपछि सम्पूर्ण उपभोक्ताहरूले पानीको नमुनासहित समितिमा गएर गुनासो राखेका थिए । तर, समितिले कुनै चासो नदेखाएको स्थानीय उपभोक्ता ढाकालाल अधिकारीले बताए । आफूले यस विषयमा समितिका अध्यक्षलाई व्यक्तिगत रूपमै फोनबाट पटक–पटक समस्या समाधानका लागि सम्पर्क गरे पनि यस विषयमा अध्यक्ष समेतले नसुनेको उनको भनाइ छ ।
नवनिर्मित ट्याङ्कीको मेशिनमै खराबी भएका कारण समस्या आएको हुनसक्ने भन्दै समितिले तत्काल ट्याङ्कीलाई मर्मत गरी उपभोक्ताहरूलाई शुद्ध पानी वितरण गर्नु पर्ने अधिकारीले बताए । दूषित खानेपानी सेवनका कारण उपभोक्ताहरूमा विभिन्न महामारीजन्य रोगहरू निम्तन सक्ने बताउँदै उपभोक्ता राजन अधिकारीले पानी वितरणमा तत्काल शुद्धता ल्याइनु पर्नेमा जोड दिए । स्वास्थ्यसँग जोडिएको खानेपानीलाई बेवास्ता गर्न नहुने स्थानीय उपभोक्ताहरूको भनाई छ ।
यता समितिका अध्यक्ष पुरुषोत्तम अधिकारीले भने प्राविधिकहरूको सहयोगमा समितिले छिटोभन्दा छिटो निर्णय गरी शुद्धता बनाउने विषयमा आफू प्रतिबद्ध भएर लाग्ने बताए । ३५ सय बढी उपभोक्ता रहेको समितिले चन्द्रगढी खानेपानीको पुरानो ट्याङ्कीबाट मात्र पानी पुर्याउन समस्या भएपछि विगत केही समयदेखि नवनिर्मित ट्याङ्कीबाट उपभोक्ताहरूलाई पानी वितरण गर्दै आएको छ ।