रोटरी क्लब भद्रपुरद्वारा मेची अस्पताललाई स्वास्थ्य सामग्री प्रदान
भद्रपुर । रोटरी क्लब अफ भद्रपुरले मेची अस्पताललाई करिब ६ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । रोटरी क्लब अफ भद्रपुरका अध्यक्ष आदित्य पराजुली, पूर्व एआइजी नवराज ढकाल र नेपाल उद्योग बाणिज्य सङ्घ प्रदेश १ का अध्यक्ष टीकाराज ढकालले सो सामग्री सोमबार एक कार्यक्रमका बिच अस्पताल सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ पोर्तेल र मेसु डा. टङ्कप्रसाद बाह्रकोटीलाई हस्तान्तरण गरेका हुन् ।
पूर्व एआइजी ढकालको पहलमा बोधिसत्वा विहारको सहयोगमा रोटरीले मेची अस्पताललाई १० थान अक्सिजन सिलिन्डर, अक्सिजन कन्सनट्रेटर, पिपिई, मास्क, स्यानिटाइजर लगायतको स्वास्थ्य सामग्री प्रदान गरेको रोटरीका अध्यक्ष आदित्य पराजुलीले जानकारी दिए । दोस्रो लहरको कोरोना भाइरस संक्रमणको महामारीले सरकारी अस्पतालमा निःशुल्क उपचार गराउन आउने संक्रमित बिरामी र संक्रमितको उपचार खटिने स्वास्थ्यकर्मीलाई लक्षित गरी सो स्वास्थ्य सामग्री प्रदान गरिएको उनले बताए । स्वास्थ्य सामग्री वितरण कार्यक्रममा ८ नम्बर वडा अध्यक्ष गौरव सुब्बा (मनोज), अस्पतालका चिकित्सक, कर्मचारी, रोटरीका सदस्यहरू, पत्रकार लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रमको सञ्चालन रोटरीका सेक्रेटरी ईश्वर अधिकारीले गरेका थिए ।