मेची नगरको खोप केन्द्रमा लफडा
धुलाबारी । आज बिहान १० बजे धुलाबारी स्वास्थ्य केन्द्रमा कोरोना बिरुद्धको खोप लगाउन आएका ६२ देखि ६४ बर्ष उमेर समुहका सयौं सर्वसाधारणमाथी खोप सकियो भन्दै, मेचीनगर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष सुवेशकुमार पनेरु अभद्र रुपमा प्रस्तुत भए । खोप कसरी सकियो ? भनेर प्रश्न गर्ने सेवाग्राहीलाई वडा अध्यक्ष पनेरुले भने, ‘मैले भनेपछि सिद्धियो, धेरै कुरा नगर्नुहोस ।’
तोकिएका उमेर समुहकाले नलगाइ कसरी खोप सिद्धियो भनेर मेचीनगर ९ का कमल पौडेलले प्रश्न गर्दा वडा अध्यक्षले अपशब्द समेत प्रयोग गरी झम्टिए पछि खोप केन्द्रमा निक्कै तनाव उत्पन्न भएको थियो । ‘खोप किन पुगेन भनेर खड्ग ओलीलाई सोध्नु’ वडाध्यक्ष पनेरु प्रश्नकर्ता पौडेलमाथि आक्रामक रुपमा प्रस्तुत हुँदै भने । खोप वितरणमा अनियमितता भएको भनेर आफुसँग निहुँ नखोज्न वडाध्यक्षले पौडेललाई ठाडो चुनौति समेत दिए । खोप केन्द्रमा उपस्थित प्राध्यापक, पत्रकार र सेवाग्राही लगायतले वडाअध्यक्षलाई नरोकेको भए खोप केन्दमा कुटाकुट हुने अवस्था भएको थियो ।
पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य तथा लोकतन्त्र पोष्ट दैनिकका सम्पादक मोहन काजी, कञ्चनजंघा एफएमका कार्यक्रम निर्देशक पत्रकार दिपेन्द्र पौडेल, नेपाल पत्रकार महासंघको केन्द्रीय प्रतिनिधि एवम सेतोपत्र अनलाइनका सम्पादक ज्ञानेन्द्र निरौला, धुलाबारी क्याम्पसका प्राध्यापक धर्मानन्द खनाल, प्राध्यापक सागर शिवाकोटी लगायत सयौं सेवाग्राही वडा अध्यक्ष पनेरुको ताण्डवको प्रत्यक्षदर्शीका रुपमा उपस्थित थिए ।