कोरोना खोप लगाउनेलाई गाँजा उपहार

एजेन्सी

अमेरिकाको वासिङ्टन राज्यले कोरोना भाइरसविरूद्धको खोप लगाउने २१ वर्ष माथिका नागरिकलाई तत्कालै एक खिल्ली गाँजा उपहार दिने कार्यक्रम ल्याएको छ । उक्त कार्यक्रमको नाम ‘जोइन्ट्स फर ज्याब्स’ राखिएको छ । यसबाट युवाहरू कोरोना खोप लगाउन उत्प्रेरित हुने आशा गरिएको छ । खोप लगाउँदा गाँजा खान पाइने कार्यक्रम जुलाई १२ सम्म लागु हुने बताईएको छ ।

वासिङ्टन राज्यमा अहिलेसम्म ५८ प्रतिशत मानिसले मात्र कोरोनाको पहिलो डोज लगाएका छन् भने पूर्ण खोप लगाउनेहरू ४९ प्रतिशत छन् ।

खोप लगाउनेलाई यस्ता विभिन्न उपहार योजना यसअघि अमेरिकाका अरू राज्यले पनि ल्याएका थिए । एरिजोनामा पनि कोरोना खोप लगाउँदा गाँजा दिने कार्यक्रम सुरू गरिएको थियो । केही राज्यले खोप लगाउनेलाई सित्तैमा बियर दिने, केहीले विश्वविद्यालयमा छात्रवृत्ति दिने गरेका छन् भने केहीले लाखौं डलरको चिठ्ठा राखेका छन् ।

अमेरिकामा अप्रिलदेखि कोरोना भाइरसविरूद्धको खोप लगाउने क्रम घट्दै गएकाले यस्तो कार्यक्रम ल्याइएको बताईएको छ ।