कांग्रेसको १४ अधिवेशनमा सभापतिका उम्मेदवार
काठमाडौं । आगामी भदौ १६–१९ का लागि तय गरिएको महाधिवेशनको सरगर्मी काँग्रेसमा ह्वात्तै बढेको छ । सभापति देउवाले उम्मेदवारी प्रस्तुत गरी आफू पक्षीय केन्द्रीय नेताहरुसँग प्रदेश स्तरीय छलफल गरेपछि महाधिवेशनको माहौल एकाएक तातेको छ ।
चारपटक प्रधानमन्त्री र ३ पटक पार्टीको नेतृत्व गरेका देउवालाई विश्राम लिन आफ्नै टिमबाट दबाब छ । उसभापति निधि र नेता श्रेष्ठको चुनौतीका बीच देउवा अगाडि बढिसकेको अवस्था छ । पार्टी राजनीतिमा सुरुमा गिरिजाप्रसाद कोइरालाले अघि बढाएका देउवाले पार्टीको दशौ पोखरा महाधिवेशनमा कोइरालालाई नै नेतृत्वका लागि चुनौती दिएका थिए । २०५९ मा देउवाको नेतृत्वमा काँग्रेस विभाजन नेपाली काँग्रेस प्रजातान्त्रिक बनेको थियो । उक्त पार्टीमा उनी सर्वसम्म पार्टी सभापति चयन भए । ०६४ मा देउवा नेतृत्वको पार्टीले काँग्रेससँग एकता गर्यो । एकतापछिका दुई वटा महाअधिवेशनमा देउवा पराजित भए । तर, ०७२ सालमा भएको तेह्रौँ महाधिवेशनमा तत्कालीन पार्टी उपसभापति रामचन्द्र पौडेललाई हराएर देउवा नेपाली कांग्रेसको पार्टी सभापतिमा निर्वाचित भए । अहिले सभापतिमा दोहोरिने चाहना देउवाले व्यक्त गरेका छन् । तर, उनले आफ्नै समूहका विमलेन्द्र निधि र गोपालमान श्रेष्ठहरुलाई समेत मिलाउन सकेका छैनन् । सभापतिमा दोहोरिने देउवाको योजनामा संस्थापन पक्षबाटै दुई जनाले चुनौती दिएको अवस्था छ । पहिलो कार्यकालमा असफल सभापतिको दाग लागेको भन्दै आसन्न चुनावमा पार्टीलाई बहुमत दिलाएर देउवा दाग पखालेर विदा हुने सोचमा देखिन्छन् ।
काँग्रेसको १० औं महाधिवेशनमा केन्द्रीय सदस्य बन्न सफल भएका बिमृलेन्द्र निधि, त्यसयता उनी काँग्रेसको केन्द्रीय राजनीतिमा जमेका छन् । देउवा नेतृत्वको नयाँ पार्टीमा महामन्त्री बनेका उनी एकीकृत पार्टीमा महामन्त्रीका रुपमा प्रवेश भए । तर १२ औं महाधिवेशनमा पहिलो पटक महामन्त्रीको निर्वाचन हुँदा प्रकाशमान सिंहसँग पराजित भए । १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य जितेका निधिलाई ०७५ मा देउवाले उपसभापतिमा बनाए । यतिबेला निधिले देउवालाई भावी सभापतिका लागि चुनौती दिएको अवस्था छ ।
प्रकाशमान काँग्रेसका संस्थापक नेता गणेशमान सिंहका छोरा हुन् । ०३० सालमा नेविसंघबाट राजनीति थालेका सिंह ०३६ सालमा नेविसंघको काठमाडौं जिल्ला अध्यक्ष भए । ०५७ सालमा पोखरामा भएको १० औँ महाधिवेशनबाट सिंह केन्द्रीय सदस्यमा विजयी भए । ०५८ सालमा काँग्रेस फुट्दा देउवा नेतृत्वको काँग्रेस प्रजातान्त्रिकमा उपसभापति भए । ०६४ मा पार्टी एकीकरण हुँदा पनि उपसभापति नै भए । प्रकाशमानले पनि १४ औं महाधिवेशनबाट ‘फस्ट म्यान’ हुने सोचमा छन् । सभापतिका लागि पौडेलको टीममा उनी आफूलाई स्भाविक दाबेदार ठान्छन् ।
रामचन्द्र पौडेल ०२७ सालमा नेविसंघ स्थापना हुँदा संस्थापक सदस्य रहेका पौडेल ०४० देखि केन्द्रीय राजनीतिमा छाए । काँग्रेस केन्द्रीय प्रचार समिति संयोजक भएर उनी केन्द्रीय राजनीतिमा उदाएका थिए । पौडेल पटक–पटक मन्त्री भए पनि प्रधानमन्त्री भएका छैनन् । उनी पार्टीमा महामन्त्री र उपसभापतिसम्म भए । तर, सरकार र पार्टी दुवैतर्फको पहिलो स्थान हासिल गर्न पौडेललाई अवसर जुरेको छैन । प्रधानमन्त्रीमा १७ पटक प्रयास गर्दा पनि असफल भएका पौडेल देउवासँग १३ औं महाधिवेशनमा पराजित भएपछि सभापति बन्न सकेनन् । तर पौडेलमा काँग्रेसको सभापति हुने उत्कट आकांक्षा जिवितै छ । त्यसैले न उनी १४ औं महाधिवेशनबाट सभापति बन्न कस्सिएका छन् ।
देउवाको दोस्रो उम्मेदवारीले पौडेलको दाबीलाई केही सहजता प्रदान गरेको छ । तर, पौडेललाई रोक्न उनको समूहबाट महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य सुजाता कोइराला, शेखर कोइराला, कल्याण गुरुङले सभापतिमा लड्ने घोषणा गरिसकेको अवस्था छ । पूर्वसहमहामन्त्रीद्वय अर्जुननसिंह केसी र रामशरण महतले पनि पौडेल पक्षबाट एकल उम्मेद्वारी नभए सभापतिमा लड्ने बताएका छन् । तर, केसी र महत पदाधिकारीमा मनाउन सकिने पौडेलको बुझाइ देखिन्छ ।
पौडेलका लागि सबैभन्दा भारी कोइराला परिवारका तीनजना नेता हुन् । शशांक र शेखर व्यग्रताका साथ सभापतिको दौडमा निस्किएका छन् । सुजाता कोइरालाले पनि पौडेल समूहबाट उम्मदेवारी दाबी गरेकी छिन् । १३ औं महाधिवेशनमा भारी मतान्तरले महामन्त्री जितेका शशांक र एक नम्बरमा लोकप्रिय मत बटुलेका शेखरले देउवालाई हटाउन आफ्नो उम्मेदवारी अपरिहार्य ठानेको देखिन्छ । यो अवस्थामा कोइराला परिवारको विश्वास जित्नु रामचन्द्र पौडेलका लागि चुनौतीपूर्ण हुने देखिन्छ । पौडेल पक्षका युवा नेता गुरुङ पनि एक वर्षदेखि नै आफूलाई सभापतिको उम्मेदवारको रुपमा प्रचार गरिरहेका छन् । आफू युवा पंक्तिको टीम नै बनाएर चुनावी मैदानमा उत्रिने गुरुङको भनाइ छ । युवा नेताहरुले पदाधिकारीमा बाग्रेनिङ गर्न सभापतिको प्रचार गरे पनि आफू सभापतिमै लड्नका लागि अगाडि बढेको उनको भनाइ छ ।
यता १३ औं महाधिवेशनमै पौडेलसँग विद्रोह गरी सभापतिका उम्मेदावर बनेका कृष्णप्रसाद सिटौला पनि सभापतिका बलियो आकांक्षी छन् । सिटौलाले आफू सभापतिको स्वभाविक दाबेदारका रुपमा उभ्याउँदै आएका छन् । तर, १३ औं महाधिवेशनमा पहिलो राउडबाट बाहिरिएर दोस्रो राउण्डमा किङमेकर बनेका सिटौला यतिबेला के गर्छन् प्रस्ट भइसकेको छैन । १३ औं महाधिवेशनै टीम लिएर चुनावमा जान्छ वा कुनै समीकरणमा मिसिन्छन् सिटौलाले खुलाएका छैनन् ।
तलबाट आफू पक्षीय कति महाधिवेशनमा मतदाता जितेर आउँछन् त्यसैको स्ट्रेन्थ हेरेर आगामी रणनीति बनाउने सिटौलाको योजना छ । सिटौला पक्षीय भनेर चिनिने नेताहरुको झुकाव केहिको देउवा र केहीको पौडेल पक्षतिर देखिन्छ । गगन थापा र प्रदीप पौडेल रानमचन्द्र पक्षमै झुकाव राख्छन् भने उमाकान्त चौधरी, शिव हुमागाईं, भीमसेनदास प्रधान देउवासँग नजिक रहेको पाइन्छ । हुमागाईंका अनुसार सिटौला सभापतिको दौउडमै रहेको र चुनाव चित्ने गरी टीम बनाउने गृहकार्य भइरहेको छ । तर, सिटौला समूहले देउवालाई सघाउँछ कि आफूलाई भन्ने कुराले पौडेलको हारजित तय हुने देखिन्छ ।