नगर सरकारको वजेटले न्युनतम पारिश्रमिक अस्वीकार गरेको आरोप

भद्रपुर । भद्रपुर नगर सरकारले नगर क्षेत्रमा कार्यरत शिक्षक कर्मचारीको तलव संघीय सरकारको नीति विपरित सार्वजनिक गरेको भन्दै नेपाल शिक्षक संघ भद्रपुर नगर समिति तथा शिक्षक महासंघ भद्रपुरले आपत्ति जनाएको छ ।

संघीय सरकारले सवै मजदुरको न्युनतम पारिश्रमिक १५ हजार कार्यान्वयन गर्ने नीति अनुसार वजेट सार्वजनिक गरेको भए पनि भद्रपुर नगर सरकारले सो नियम नमान्ने गरी नगर क्षेत्रका शिक्षक कर्मचारीको पारिश्रमिक व्यवस्थापन गरेको भन्दै शिक्षक महासंघ र शिक्षक संघले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।

शिक्षक महासंघका अध्यक्ष गणेश गिरी तथा शिक्षक संघकी अध्यक्ष मञ्जु दाहालले एक विज्ञप्ति जारी गर्दै संघीय सरकारको नीति विपरित शिक्षक कर्मचारीको तलव राख्ने काम पुनरविचार गरी सच्चिन नगर कार्यपालिकासित अनुरोध गरेको छ । सरकारी विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले नै न्युनतम पारिश्रमिक नपाउने अवस्थाले अन्य क्षेत्रका मजदुर समेत प्रभावित हुने ठहर विज्ञप्तिमा उठाइएको छ ।