दोश्रो लहरको कोरोनाबाट झापामा २०१ को ज्यान गयोे
भद्रपुर । झापामा कोरोनाको दोस्रो लहरको संक्रमणबाट असार ७ गतेसम्ममा ज्यान गुमाउनेको संख्या २०१ पुगेको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले, कोरोनाको दोस्रो लहरको संक्रमणका कारण झापामा ज्यान गुमाउने २०१ जनामध्ये १३१ पुरुष र ७० जना महिला रहेको बताए ।
झापामा कोरोना दोश्रो लहरको पहिलो शिकार २०७७ चैत ३० गते दमक ८ का ९२ बर्षीय पुरुष बनेका थिए भने पहिलो संक्रमित २०७७ चैत २४ गते शिवसताक्षी नगरपालिकाका एक पुरुष रहेका थिए ।
गतवर्ष कोरोनाको पहिलो लहरबाट झापामा ज्यान गुमाउनेकोे संख्या १२९ पुगेको थियो भने १२९ मध्ये ९० जना पुरुष र ३९ जना महिला रहेका थिए । यसरी झापामा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १०९ महिला र २२१ पुरुष गरी जम्मा ३३० पुगेको छ ।