केही खुकुलो पार्दै असार १४ गतेसम्मका लागि निषेधाज्ञा जारी
भद्रपुर । जिल्ला प्रशासन कार्यालय झापाले भोलिदेखि थप केही खुकुलो पार्दै असार १४ गतेसम्मका लागि निषेधाज्ञा बढाएको छ । कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) झापाको आज बसेको बैठकले जारी निषेधाज्ञालाई जिल्लाको कोरोना संक्रमण घट्दो क्रममा रहेको तर जोखिम कायमै रहेकाले केही खुकुलो पार्दै निषेधाज्ञालाई निरन्तरता दिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
झापामा भेलिदेखि सबै खाले पसल, ब्यवशाय बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ खाद्यान्न, फलफुल, माछामासु, डेरी, हार्डवेयर तथा निर्माणजन्य सामग्री पसल, पुस्तक पसल बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म खुल्ला गर्न पाइने भएको छ । त्यस्तै इलेक्ट्रोनिक, टेलरिगं, ड्राइक्लिनर्स, लत्ता कपडा, जुत्ता जप्पल, सुनचाँदी, कस्मेटिक, भाँडा पसल, गाडीरमोटरसाइकल सोरुम, प्लाष्टिक तथा मेसिनरी पसल पनि बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म खुल्ला गर्ने निर्णय भएको छ । बैंक तथा बित्तिय संस्थाहरु असार ८ गतेदेखि साता भरि नै खुला गर्ने निर्णय भएको छ भने होटल तथा रेष्टुरेन्टले टेक अवे सेवा मात्रै सञ्चालन गर्न पाउने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
यता, कोरोनाको दोस्रो लहर सुरु भएपछि झापामा गत वैशाख १९ गतेबाट निषेधाज्ञा जारी गरिएकोे थियो । जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञा जारी गरेपछि निषेधाज्ञा उल्लङ्घन गर्ने साढे तीन हजार सवारी कामकारबाही परेका छन् । निषेधाज्ञामा अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी सञ्चालनमा रोक लगाइएको थियो । तर, निषेधाज्ञा उल्लङ्घन गर्ने सवारीलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक निशेष चापागाईँले जानकारी दिए ।
प्रशासन कार्यालयले बनाएको मापदण्ड पालना नगर्ने सवारीलाई असार ५ गतेसम्ममा तीन हजार ५३३ वटा सवारी कामकारबाही परेको प्रहरी निरीक्षक चापागाईँले बताए । कामकारबाही पर्नेमा ट्रक–८६१, टिपर–१५१, बस–१०५, कार–जिप–४१७, ट्याक्टर–३०९, मोटरसाइकल–१२९४, ट्याम्पो–अटो–२९७ र अन्य–९९ बाट सवारी कामकारबाही परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । उक्त सवारी कारबार्हीबाट २३ लाख ८७ हजार पाँच सय रुपैंया राजश्व सङ्कलन भएको प्रहरी निरीक्षक चापागाईँले बताए । झापाका दमक, बिर्तामोड, भद्रपुर, कांकरभिट्टा लगायतका सहरहरूमा निषेधाज्ञा उल्लङ्घन गर्ने रहेका बताइएको छ ।