सहुलियत मूल्यमा चामल विक्री
भद्रपुर । झापामा, निषेधाज्ञाको कारण पीडा खेपिरहेका जनतालाई राहतका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत मूल्यमा चामल विक्री गर्न थालेको छ ।
निषेधाज्ञाको अवधिभर २० प्रतिशत छुट मूल्यमा चामल विक्री गरिरहेको कम्पनीका कार्यालय प्रमुख देबेन्द्र राईले बताए । राईका अनुसार, दैनिक २०० जनाले सहुलियतको चामल खरिद गरेर लैजाने गरेका छन् । जेठ २१ गतेयता २८० क्विन्टल चामल विक्री भइसकेको छ । यसअघि ३० केजी सोना मन्सुली चामल रु.एक हजार ४१० मा बेच्ने गरिएकोमा अहिले सहुलियत दिएर रु.एक हजार १२८ मा र रु.एक हजार ६२५ मा २५ केजीको स्टिम जिरा मसिनो चामल विक्री हुने गरेकोमा अहिले रु.एक हजार ३०० मा विक्री गरिरहेकोे कार्यालयले जनाएको छ ।
चामल किन्न स्थानीय उपभोक्ताको भीड लागेपछि कम्पनीले कुपन प्रणाली लागू गरेर व्यवस्थित गरिएको जनाइएको छ । कार्यालयमा हाल १४ हजार ५०० क्विन्टल स्टकमा रहेको प्रमुख राइले बताए ।