कनकाई नगरपालिकामा अक्सिजन ल्पान्ट

भद्रपुर । झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले आफ्नो नगरमा अक्सिजन प्लान्ट स्थापनाका लागि आफ्नो ३ वर्षको पारिश्रमिकबापतको १० लाख रुपैयाँ सहयोग स्वरुप प्रदान गरेका छन् । सो रकमको चेक शनिबार नगर उपप्रमुख मन्जु प्रसाईँलाई हस्तान्तरण गरे । नगरभित्रका कोरोना संक्रमित बिरामीलाई अक्सिजन अभाव हुन नदिन नगरपालिका आफैले प्लान्ट स्थापना गर्न लागेको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए ।

प्लान्ट स्थापनाका लागि २ करोड रुपैयाँ खर्च हुने नगरपालिकाको अनुमान छ । प्लान्ट स्थापनाका लागि नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलगातबाट १ करोड रुपैयाँ जुटाउने योजना रहेको नगर प्रमुख पोखरेलले बताए । बाँकी १ करोड रुपैयाँ विभिन्न सहयोगी दाताहरुबाट जुटाउनेगरी सहयोगको अपिल गरेको उनले बताए । नगरपालिकाले अक्सिजन प्लान्ट सुरुङ्गास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना गर्नेछ । प्लान्ट तीन महिनाभित्रमा सञ्चालनमा ल्याइने पोखरेलले बताए ।

कनकाई नगरपालिकामा कोरोनाबाट जेठ १५ गते शनिबारसम्म १३ जनाको मृत्यु भएको छ । जसमा ३ महिला र १० पुरुष छन् । नगरका ५ हजार ३ सय ३२ जनाको पीसीआर स्वाब परीक्षण गरिएकामा ६ सय ३० जना संक्रमित भएको नगर उप्रमुख मन्जु प्रसाईले जानकारी दिईन । उनीहरुमध्ये ३ सय ७९ जना निको भएर घर फर्किसकेका छन् । हाल २ सय २९ जना होम आइसोलेसनमा, ६ जना विभिन्न अस्पतालमा र ३ जना नगरले सञ्चालनमा ल्याएको कनकाई आइसोलेसनमा उपचाररत रहेको नगरका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिए ।