प्रधानमन्त्री ओलीको कदम विरुद्धमा भद्रपुर नगर भित्रका ४ राजनैतिक दलहरूले विज्ञप्ति जारी गरे

भद्रपुर  । प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बिरूद्ध भद्रपुरका ४ राजनीतिक दलले असहमती जनाउँदै लोकतन्त्र विरोधी कार्यको आरोप लगाएर निन्दा गरेका छन् ।

प्रधानमन्त्री ओलीले सत्ता सम्हालेदेखिनै अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको प्रमाण पहिल्लो घटना भएको भन्दै नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी दल तथा नेकपा एमाले समानन्तर कमिटीले सम्युक्त विज्ञप्ति जारी गरी निन्दा गरेका हुन् ।

विज्ञप्तिमा नेपाली काँग्रेसबाट नगर सभापति मोहन महर्जन, उपसभापति ज्ञानबहादुर चौहान, माओवादी केन्द्रबाट अध्यक्ष शिवकुमार राजभण्डारी, नरेश संञ्जेल, एमाले समानन्तर कमिटीबाट पदमबहादुर लिम्बू, लोकनाथ भट्टराई र जनता समाजवादी पार्टीबाट सर्मिला आङ्गदाम्बे, शत्रुधन चौधरीले हस्ताक्षर गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ— “प्रधानमन्त्री के.पी. शर्मा ओली सरकारमा आए देखिनै लोकतान्त्रिक मुल्य, मान्यता, आदर्श र नैतिकता विपरितका कार्य गर्दै आएको सर्वविदितै छ । नक्कली राष्ट्रवादको आडमा देश र जनतालाई झुक्याउदै आएको ओलीले एक पछि अर्काे लोकतन्त्र विरोधी, राष्ट्रियघाती कार्य गर्दै आएका छन् । यसै क्रममा प्र.म. ओली र राष्ट्रियपति विद्यादेवी भण्डारीको सड्यन्त्रबाट २०७८ साल जेठ ७ गते मध्य राति जननिर्वाचित प्रतिनिधि सभा विगठन गरेर संविधानको ठाडो उल्लाघंन गरेका छन् । नेपाली जनताको वलिदानबाट प्राप्त संविधानको मर्म भावना समेतलाई अवमुल्यन गरी जाल–झेल र किर्ते गरी मध्य रातमा संसद विगठन गरिएको घटना प्रति लोकतन्त्रमा आशा, भरोशा र विश्वास राख्ने हामी ४ राजनैतिक दलहरु घोर निन्दा र भत्सना गर्दछौं ।
आफुसंग बहुमत नरहेको र विश्वासको मत समेत लिन सक्ने आधार नदेखिएकाले नयाँ सरकारका लागि मार्ग प्रसस्त गर्ने निर्णय गरे भनि पत्रकार सम्मेलन वोलाउने अनी आधा घण्टा पछि म संग बहुमतको सरकार बनाउने आधार छ भनि राष्ट्रपतिकोमा दावी पेश गर्नु यो भन्दा निर्लज्जता के हुन सक्छ । ओलीद्वारा मुलुकलाई जटिल र गम्भिर राजनैतिक संकट र दुर्घटना तिर धकेल्ने अपराधिक सड्यन्त्रको जति निन्दा र भत्र्सना गरेपनि कम हुन्छ । मुलुकमा भएको जनप्रतिनिधि मुलक संस्था विगठन गरी अध्यादेश मार्फत सदनमा छलफलमा रहेको नागरिकता विधेयक, गुठी विधेयक, दल विभाजन सम्वन्धि विधेयक, संवैधानिक परिषद नियुक्ति विधेयकहरु सहितबाट देश संचालन गर्ने कार्यले समृद्र राष्ट्र निर्माणको सम्भावना पुरा हुन सक्दैन भन्ने हाम्रो ठहर छ ।
प्र.म. ओली र राष्ट्रपति भण्डारीको गुटगत सड्यन्त्रको सिकार भएको प्रतिनिधि सभा पुनः स्थापनाका लागि पूनः आन्दोलनमा जानुको विकल्प छैन, देश र जनाताका विरुद्धमा भएको यो जगन्य अपराधको विरुद्धमा फेरी एकपटक नेपाली जनताहरुलाई आन्दोलनका लागि अपिल गर्नु परेको छ । कोरोना महामारी विच भ्याक्सिन किन्न नसकेको सरकारले अरवौं खर्च गरी जनतालाई मुत्यूको मुखमा धकेली चुनाव हुने अवस्था छैन । देश महामारीको चपेटामा छ । जनता घरबाट वाहिर निश्कने अवस्था छैन । यस्तो अवस्थामा चुनावलाई वाहाना वनाई निरंकुश अधिनायकवादी शासन लाद्ने प्रधानमन्त्री र राष्ट्रपतिको प्रतिगमन र सड्यन्त्रलाई जनताको विचमा भण्डाफोर गर्न सवै तोकतान्त्रिक शक्तिहरु एकजुट हुनु आजको मुल आवश्यकता हो ।
महान नेपाली जनताको अपार सहभागिता र वीर शहीदहरुको वलिदानबाट प्राप्त संघिय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, संघियता र समावेसीतालाई समाप्त पारी संविधानलाई असफल पारेर राष्ट्रयलाई विग्रह र विखण्डनको वाटोमा लैजाने राष्ट्रपति पनि पदिय मर्यादाबाट विमुख भई के.पी. ओलीको सड्यन्त्रको बैचारिक पर्दाफास गर्दै असंवैधानिक कदमको विरुद्ध एक जुट हुन आहवान गर्दछौं । निषेधाज्ञाको समयमा आर्थिक अवस्था कमजोर भएका, ज्याला मजदुरका परिवारहरुलाई तुरुन्त राहत वितरण गर्न तीनै तहका सरकारसंग जोडदार माग गर्दछौं साथै राहत सहयोगकालागि सम्पूर्ण सहयोगी मनहरुलाई आहवान गर्दछौं । लोकतन्त्रको संस्थागत विकास र प्राप्त उपलव्धीको रक्षाका लागि आन्दोलनको अग्रमोर्चामा रहेर विगतका दिनहरुमा जस्तै सशक्त भूमिका निर्वाह गर्न हामी सम्पूर्ण नागरिक समाज, पत्रकार, मानवअधिकार कर्मी, मजदुर, किसान, युवा, विद्यार्थी, प्राध्यापक, शिक्षक, कानून व्यवसायी, उद्योगी, व्यवसायी, विभिन्न पेशा कर्मी लगायत सम्पूर्ण न्याय प्रेमी भद्रपुरबासी आम जनसमुदायहरुमा हार्दिक अपिल गर्दछौं” भनिएको छ ।