भद्रपुरमा कोभिड हेल्प डेस्क सञ्चालनमा
भद्रपुर । नागरिक समाज झापाको तर्फबाट भद्रपुुमा पहिलो पल्ट कोभिड हेल्प डेस्क सञ्चालनमा ल्याइएको छ । झापा जिल्ला कोभिड–१९ संक्रमणको रेड जोनमा छ । अस्पतालमा आफन्तको उपचारमा पुगेकाहरू समेत अलपत्र रहने गरेका छन् । कोभिड–१९ सङ्क्रमितदेखि बिरामी कुरुवा लगायतलाई द्रुत सहयोग पुर्याउन नागरिक समाज झापाको तर्फबाट भद्रपुुमा पहिलो पल्ट कोभिड हेल्प डेस्क सञ्चालनमा ल्याइएको हो ।
नागरिक समाजको तर्फबाट सहारा नेपाल र नेपाल रेडक्रस सोसाइटी झापा शाखाको सल्लाह र समन्वयनमा गैरसरकारी संस्था महासंघ झापा, नेपाल पत्रकार महासंघ झापा, नेपाल बार एसोसिएसन झापा इकाई, जिल्ला सहकारी सङ्घ झापा र नाइट चेस क्लब कांकरभिट्टा रहेको कोभिड प्रभावित सहयोग सहयोग समिति झापा गठन गरी सोही समिति मार्फत भद्रपुरमा कोभिड हेल्प डेस्क सञ्चालनमा ल्याइएको छ ।
गैरसरकारी संस्था महासंघ झापाका अध्यक्ष हरिप्रसाद गौतमका अनुसार मेची प्रादेशिक अस्पतालमा रहेका कोभिडका बिरामी तथा कुरुवालाई दुत्र सेवा तथा सहयोग पुर्याउन कोभिड हेल्प डेस्क सहयोगी हुने बताए । दाताहरूको सहयोगलाई व्यवस्थापन गर्ने, कोभिड संक्रमित तथा कुरुवालाई आवश्यक सरसल्लाह तथा सक्दो सहयोग गर्ने, मेची कोभिड अस्पतालको सरसफाइ, सुरक्षा लगायतमा सहजीकरण तथा समन्वयन गर्ने हेल्प डेस्कको मुख्य उद्देश्य रहेको गौतमले बताए ।