झापामा कोरोनाबाट ४को मृत्यु

भद्रपुर । झापामा आज १ महिला र ३ पुरुष गरी ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको बुद्धशान्ति गाउँपालिका २ निवासी ७७ वर्षीय वृद्ध पुरुष र पाँचथरको फिदिम निवासी ३१ बर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिए । मृतक पुरुष जेठ ७ गते र महिला जेठ ८ गते कोभिड उपचार केन्द्रमा भर्ना भएका थिए । उनीहरुको मृत्यु मेची अञ्चल अस्पतालको कोभिड उपचार केन्द्रमा भएको हो ।

त्यस्तै भद्रपुर नगरपालिका ४ निवासी ५२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । उनको विराटनगरको नोबेल अस्पतालमा आइतबार साँझ मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए । वैशाख २८ गते संक्रमण पुष्टि भएका ती पुरुष अस्पताल भर्ना भएका थिए । उनको शव मध्यराती १२ बजे भद्रपुर ल्याएर दाहसंस्कार गरिएको जनाइएको छ ।

यसैगरी मेचीनगर–१४ स्थित कलमवाडीका एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

४२ वर्षीय उनको सोमबार विहान १० वजे बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको मेचीनगर नगरपालिकाका कोभिड संयोजक नबिन बरालले बताए ।