रेडक्रस सोसाईटी झापाको निशुल्क एम्बुलेन्स सेवा

भद्रपुर । नेपाल रेडक्रस सोसाईटी झापाले कोभिडका विरामीलाई जिल्लाभित्रका अस्पतालसम्म लैजान निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । झापाका रेडक्रसका उपशाखामा भएका ९ वटा एम्बुलेन्स मार्फत कोरोनाका संक्रमितहरुलाई जिल्लाका जुनसुकै अस्पतालमा पुर्याउन निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको रेडक्रस झापाका सभापति लोकराज ढकालले जानकारी दिनु भयो ।

सभापति ढकालका अनुसार जिल्ला शाखाको एम्बुलेन्स सहित बुद्धशान्ति, कनकाइ, दमक, जलथल, लखनपुर, सुरुगां, शरणामति र गौरादहका उपशाखामा रहेका एम्बुलेन्सहरुले जिल्ला भरि कोरोना संक्रमितलाई अस्पताल लैजान निशुल्क सेवा दिने छ । कोरोना संक्रमितहरुलाई अस्पताल लान जुनसुकै सवारी साधनले नमान्ने भएकाले संक्रमितहरु बेलैमा अस्पताल पुग्न सजिलो होस भन्ने उद्देश्य निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको रेडक्रस सभापति ढकालले बताउनु भयो ।

सेवा लिनेले रेडक्रसका सम्पर्क व्यक्ति तथा त्यसका चालकलाई सम्पर्क गर्न समेत सभापति ढकालले अनुरोध गर्नु भएको छ । रेडक्रसले गतवर्ष कोरोना संक्रमणको जोखिमका वेला समेत संक्रमितहरुलाई अस्पताल लैजान एम्बुलेन्स सेवा प्रदान गरेको थियो ।