कोभिड सङ्क्रमितहरु झापा ल्याईंदै

भद्रपुर २० वैशाख । पहिला पहिला मोफसलका विरामी उपचार खोज्न राजधानी काठमाडौं जाने गर्दथे । अचेल कोभिड–१९ का सङ्क्रमितहरु काठमाडौंमा आइसीयु नपाएर उपचारका लागि अस्पताल खोज्दै मोफसलको झापा आउन थालेका छन् । पाँच दिनको अन्तरमा काठमाडौंका कोभिड–१९ बाट सङ्क्रमित दुई जना विरामीलाई बेडसिफ्ट गरेर आइसीयु उपचार सुविधाका लागि झापाको बीएन्डसी हस्पिटल ल्याइएको छ ।

आज दिउँसो १ बजे सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौंको मनमोहन मेडिकल कलेजबाट बेडसिफ्ट गरेर ३५ वर्षीय मदन पाठकलाई उपचारका लागि झापा ल्याइएको छ । पाँच दिनअघि काठमाडौंमा सङ्क्रमित भएका नरप्रसाद उप्रेतीलार्ई पनि हेलिकप्टरमार्फत उपचारका लागि बीएन्डसी हस्पिटलमा ल्याइएको थियो । पाठकलाई आइसीयुमा राखेर उपचार सुरु गरिएको हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए । उनले काठमाडौंमा जटिल अवस्थाका कोभिड सङ्क्रमितहरु आइसीयु र भेन्टिलेटर खोज्दै बेडसिफ्ट भएर आउने गरेको बताए ।

निजी क्षेत्रबाट सञ्चालित बीएन्डसी हस्पिटलमा हाल कोभिडको उपचारका लागि २५ बेडको छुट्टै आइसोलेसन वार्ड सञ्चालनमा रहेको गिरीले जानकारी दिए ।