गौरीगंज गाउँपालिका १ मा लकडाउन

भद्रपुर १३ वैशाख । झापाको सुदूर दक्षिण पश्चिमस्थित गौरीगंज गाउँपालिकाको भारतसंग सिमा जोडिएको वडा नं. १ ले आगामी बैशाख २० गतेसम्मका लागि लकडाउनको घोषणा गरेको छ । वडा नं. १ महाभारा चौक बस्ने ६ जनामा कोरोना पोजिटिभ पुष्टि भएको थियो । वडा नं. १ मा सामुदायिक स्तरमा कोरोना संक्रमण फैलिएको भन्दै वार्ड कार्यालयले लकडाउन (बन्दाबन्दी) गर्ने निर्णय गरेको छ ।

वडा अध्यक्ष कार्तिकलाल राजवंशीको अध्यक्षतामा आज विहान वसेको वैठकले वैशाख २० गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो । वार्ड नं. १ का ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि वार्ड कार्यलयले आपत्तकालिन बैठक बोलाएको थियो ।

लकडाउनको उक्त अवधिसम्म अत्यावश्यक खाद्यान्न र औषधि दिउसो ३ बजेदेखि ६ बजेसम्म किन्न्न पाउने र स्थानिय बजारहरू पुर्णरूपमा बन्द गर्ने निर्णय भएको वार्ड अध्यक्ष राजवंशीले जानकारी गराएछन् । अन्तर्राष्ट्रिय सिमानासंग जोडिएको वडा भएकाले सीमामा आवतजावत पुर्णरूपमा रोक लगाएको छ । झापामा यो पहिलो लकडाउन हो ।