झापाका सवै विद्यालयको पूर्व निर्धारित पठनपाठ तथा परीक्षा रोकियो
भद्रपुर, १३ बैशाख । भद्रपुर नगर शिक्षा कार्यालयले बैशाख १४ गतेबाट नगर क्षेत्रका सम्पूर्ण विद्यालयमा पठनपाठ लगायत परीक्षा सञ्चालनका कार्यक्रम रोक्ने निर्णय सार्वजनिक गरेको छ ।
नगर शिक्षा शाखा प्रमुख प्रेमबहादुर भुजेलले जारी गरेको विज्ञप्तिमा कोभिड १९ जिल्ला व्यवस्थापन केन्द्रको बैठकको निर्णय अनुसार सञ्चालनमा रहेका शिक्षण गतिविधि पूर्ण रूपले अर्को सूचना जारी नभएसम्म रोक्ने निर्णय सार्वजनिक गरेका हुन् ।
भद्रपुर नगर क्षेत्रमा सञ्चालनमा रहेका केही विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा कोरोना संक्रमण देखिएको भए पनि नगर सरकारले भौतिक पठनपाठन रोकेर वैकल्पिक पठनपाठको मार्ग निर्देश गर्न नसक्दा कोभिड १९ संक्रमण त्रासका बीचमै भौतिक रूपमा पठनपाठन भइरहेको थियो । जिल्ला स्तरीय निर्णयपछि भद्रपुर नगर क्षेत्रका अभिभावकहरूले राहत महसुस गरेको प्रतिकृया दिएका छन् ।
सरकारले आइतबार पूर्वनिर्धारित सबै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले सबै तहका पूर्वनिर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण देशभरका शिक्षालयमा तय भएका पूर्वनिर्धारित परीक्षा स्थगित गर्ने निर्णय भएको हो । कोरोनाको जोखिम कम भएपछि उपयुक्त समयमा परीक्षाको नयाँ तालिका तय गरिने बताइएको छ ।
केन्द्रको निर्णयपछि मेचीनगर नगरपालिकाभित्र सञ्चालनमा रहेका सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुको वार्षिक परीक्षा स्थगित गरिएको छ । भौतिक रुपमा हुने पूर्वनिर्धारित परीक्षाको सम्पूर्ण कार्यक्रम स्थगित गर्ने जानकारी प्राप्त भएपछि नगरभित्र सञ्चालनमा रहेका सबैखाले विद्यालयको वार्षिक परीक्षा स्थगित गरिएको नगर शिक्षा शाखाले जनाएको छ । शाखाका अनुसार नगरभित्र ४१ सामुदायिक, निजी ५९ र धार्मिक गरी कुल १ सय ९ वटा विद्यालय रहेका छन् ।
२०७७ सालको वार्षिक परीक्षा सञ्चालनका सम्बन्धमा नगर प्रमुख विमल आचार्यको अध्यक्षतामा सोमबार शिक्षकका पेशागत संघसंगठनका प्रतिनिधि, प्याब्सन र एन प्याब्सनका प्रतिनिधिहरुको छलफलबाट नगरपालिकाको पूर्वनिर्धारित परीक्षाका सम्पूर्ण कार्यक्रमहरु अर्काे सूचना नहुञ्जेलसम्म स्थगित गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख उपसचिव होमनाथ भण्डारीले बताए । यदि अनुगमनका क्रममा यो सूचनाको उल्लंघन गरी परीक्षा सञ्चालन गरेको पाइएमा कानुन बमोजिम कारवाही हुने समेत भण्डारीले बताए । त्यस्तै बिर्तामोड नगरपालिकाले पनि वार्षिक परीक्षा सार्ने विषयमा छलफल अघि बढाएको छ । बिर्तामोडमा बैशाख २० गतेदेखि वार्षिक परीक्षा गर्ने तालिका रहेको थियो । यसअघि बैशाख २० गतेदेखि परीक्षा संचालन गर्नेगरी बिर्तामोडका सामुदायिक तथा संस्थागत विद्यालयहरु वैशाख १९ गतेसम्मका लागि बन्द गरिएका थिए । बैशाख २० गतेदेखि गर्नेगरी तोकिएको परीक्षा सार्ने विषयमा छलफल भइरहेको नगर शिक्षा अधिकारी तिलचन भण्डारीले बताए । उनले जिल्लाका अन्य पालिकाहरुले गरेको निर्णयलाई हेरेर आफूहरुले पनि निर्णय गर्ने जानकारी दिए । बैशाख २० गतेदेखि पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गर्दै पूर्वनिर्धारित वार्षिक परीक्षा सञ्चालन गर्ने नगरपालिकाले तयारी गर्न लगाएको थियो ।