कोरोनाको दोश्रो लहरबाट बचाउने दायित्व कसको हो ?

कोरोना भाइरसको दोश्रो लहरले यतिबेला विश्वका विभिन्न मुलुकलाई फेरि आक्रान्त बनाएको छ । छिमेकी मुलुक भारतमा दिन प्रतिदिन सक्रमण तीव्र रूपमा फैलिएपछि संक्रमण त्रासले नेपालीलाई सताउन थालेको छ । खुल्ला सीमाका कारण रोजगारीका लागि भारत गएका नेपाली तथा गैर नेपाली नागगरिकहरूको नेपाल फर्कने लर्को चलेको छ । सरकारले उचित व्यवस्थापनको दायित्व बहन गर्न नसक्दा आम नागरिकमा सन्त्रास उत्पन्न भएको छ । महामारीको दोश्रो लहर संगै लकडाउन होला कि ? खोपले काम गर्छ कि गर्देन ? भन्ने आशंका जारी छ । भारतीय सिमानाको खुल्लापनले झापा जस्तो संवेदनशील जिल्लामा कोरोना संक्रमण नियन्त्रणका लागि राज्य पक्ष कमजोर देखिँदा संक्रमणले ज्यानमा जोखिम बढाएको छ । खासगरी विद्यालय उमेर समूहका बालबालिकामा संक्रमण देखिन थाल्दा समेत झापा प्रशासनले चासो राखेको देखिदैन ।

केहि दिनयता बालबालिकालाई कोरोना संक्रमण तीव्र देखिन थालेको झापामा अहिले पनि भीड र हुल हुज्जा शैलीमा पठनपाठन भइरहेको छ । विशेषतः झापा सदरमुकाम भद्रपुर लगायत स्थानमा विद्यार्थीहरूमा कोरोना फैलिँदै गएको जानकारी सार्वजनिक हुँदै आइरहे पनि कोभिड १९ रोकथाम तथा नियन्त्रण समितिले उचित निर्णय लिन सकिरहेको छैन । अभिभावकहरूमा त्रास बढ्दो गतिमा छ । विद्यालय सञ्चालन गर्ने कि नगर्ने भन्ने बहसले प्रमुखता पाएको भए पनि झापाका मेचीनगर, विर्तामोड र दमक नगर बाहेक अन्य सिमावर्ती नगर तथा गाउँमा समेत भीडमै विद्यालय चलिरहेका छन् ।

कुनैपनि ठाउँमा मानिसको जमघट हुन्छ भने त्यो कोरोना फैलनका लागि उपयुक्त वातावरण मानिन्छ । यसैलाई आधार मानेर हेर्दा शिक्षण संस्थाहरूमा जनस्वास्थको मापदण्ड अपनाउन असफल वा कमजोरी भएर कोरोना एक विद्यार्थीबाट अर्कोमा सर्न सक्ने जोखिम तीव्र छ । संक्रमण अन्ततः परिवारका अरू सदस्यहरूसम्म पुग्ने सम्भावना बढ्दै छ । कोरोना बालबालिकामा फैलिएको हो वा फैलिने वातावरण अनुकुल भएको यकिन छैन । पछिल्लो कोरोना पहिलो लहरको भन्दा अहिले बालबालिकामा संक्रमण बढी देखिन थालेको हो भन्ने यकिन हुँदा हुँदै विद्यालय भीडभाडमै चलाउन दिइनु जनश्वास्थ्यमाथि खेलवाड नै हो । कोरोना हाल समुदाय स्तरमा रहेको हुनाले अभिभावक मार्फत बालबालिकामा संक्रमण भइरहेको पनि हुनसक्छ अथवा विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको माध्यमबाट पनि कोभिड १९ संक्रमण विद्यार्थीमा पुगेको हुन सक्ने तथ्यलाई झापा कोभिड १९ नियन्त्रण समितिले बिर्सेको हो कि भन्ने गम्भीर प्रश्न खडा भएको छ । झापा कोभिड १९ नियन्त्रण समिति र स्थानीय तहलार्ई जिल्लाको सही स्थिति थाहा हुन्छ नकि काठमाण्डौंका पदाधिकारीलाई । त्यसैले केन्द्रमुखी भएर स्थानीय समस्या हलनहुने बारे समयमै होस् पुर्याउन उचित हुन्छ ।

गत वर्ष कोरोना संक्रमण उकालो लाग्दै गर्दा शिक्षण संस्थाहरू बन्द थिए । शिक्षण संस्था जाने र नजानेबीच संक्रमणको आक्रमकता छुट्याउन सकिएको थिएन । शिक्षण संस्थामा जाने र नजानेबीच संक्रमण अन्तर नदेखिएको विगतले यस पटक परीक्षण त गरिएको होइन ? प्रश्न सहित अबोध बालबालिकाको ज्यान जोखिम समेत बढ्दा चिन्ता थपिएको छ ।

यस पटक कोरोना संक्रमणको कारणले अस्पताल भर्ना हुने उमेर समूहमा पनि परिवर्तन आएको देखिन्छ । बालबालिका मात्र होइन युवाहरू पनि संक्रमित भइ अस्पताल भर्ना हुने गरेको दैनिक तथ्यांकको बढ्दो संख्याले पनि देखाउँदछ । जति अस्पताल भर्ना हुनेको संख्या बढ्छ, त्यति नै मृत्यु हुनेको संख्या बढ्ने सम्भावना रहने गर्छ । नेपालमा ल्याइएका खोपको प्राथमिकतामा युवाहरू सबैभन्दा पुछारमा परेको देखिन्छ । थप खोप ल्याउने मिति यकिन नहुँदा अन्योल बढेको छ । त्यसैले पनि कोरोनाको दोस्रो लहरको चपेटामा धेरैजना पर्ने देखिन्छ । कोरोनाको पहिलो लहरमा युवा समूह संक्रमित हुने गरेका थिए । तर मुख्यतः जेष्ठ नागरिक र दीर्घरोगीहरू अस्पताल बढी भर्ना र सो समूहमै मृतकको संख्या बढी थियो । हाल समुदायमा ठूलो संख्याले खोप लगाउन नपाएकाले दोस्रो लहरमा पनि जेष्ठ नागरिक तथा दीर्घरोगीहरु कोरोनाको जोखिमबाट धेरै टाढा भने छैनन् । त्यससितै बालबालिका र युवाहरू कोभिड १९ को दोश्रो संस्करणबाट ज्यान गुमाउनु पर्ने जोखिम तीव्र हुँदा हुँदै सदरमुकाम भद्रपुरका विद्यालय सञ्चालनमा वैकल्पिक विधि मिचेर भौतिक उपस्थितिमै जोड दिइरहेको नगर शिक्षा समितिमाथि पनि प्रश्न उब्जिएको छ । राज्यको नीति ढुलमुले हुँदा विद्यालय उमेर समूहका बाल बालिकाले ज्यान जोखिम मोलेर विद्यालयमा भौतिक उपस्थितिमै पठनपाठन गर्नु पर्ने विडम्बनाले तर्साइरहेको छ ।