कोरोनाका कारण पाथीभरा दर्शन बन्द

ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शन बन्द हुने भएको छ । कोरोना संक्रमण बढेका कारण मन्दिर बन्द गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । ‘यहाँ धेरै भक्तजन बाहिर जिल्लाबाट आउनुहुन्छ,’ कार्यकारी निर्देशक मनमणि काफ्लेले भने, ‘शुक्रबार बेलुका सदरमुकाम फुङलिङ आएका र माथिल्लो फेदीलगायत क्षेत्रमा पुगेकालाई शनिबार बिहान पूजा गराएर फर्काउँछौं ।’‍

अन्य तीर्थयात्रीलाई मन्दिर नआइदिन समितिले अनुरोध गरेको छ । गत मंगलबार ८ हजार ५५ जनाले मन्दिरमा पूजा गरेको क्षेत्र विकास समितिले जनाएको छ । शनिबार र मंगलबार पाथीभरामा अधिक भीड हुने गरेको छ । मन्दिर बन्द गर्ने निर्णय वैशाख ७ गते नै भएको र शनिबारदेखि कडाइका साथ लागू गर्ने प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए । ‘झापा, इलाम र पाँचथर प्रशासनसँग पनि समन्वय गरेको छु,’ पाण्डेले भने, ‘मन्दिरका लागि हिँडेकालाई त्यहीबाट फर्काइदिन अनुरोध गरेको छु ।’ सरकारले भने यसअघि नै मठ, मन्दिर, गुम्बा, चैत्य बन्द गर्ने निर्णय गरिसकेको छ । पाथीभरामा यो सिजनमा अधिक तीर्थयात्री आउने गरेका छन् ।