भूमि सुधार कार्यालयका पाँच जना कर्मचारी फरार

भद्रपुर ८ बैशाख । बिर्तामोडका स्वर्गीय टुंङगबहादुर बस्नेतको नाममा रहेको जग्गा किर्ते गरी बिक्री गरेको रहस्य बाहिरिएसँगै जिल्ला मालपोत तथा भूमि सुधार कार्यालय झापाका अधिकृत एवम् कम्प्युटर अपरेटरसहित पाँच कर्मचारी फरार भएका छन् । झापा जिल्ला अदालत भद्रपुरले घटनामा संलग्न भएको व्यक्तिको नाममा थुनछेकको आदेश जारी गरेपछि मालपोत तथा भूमि सुधार कार्यालयका पाँच जना कर्मचारी फरार भएका हुन । अदालतले पाँच जनामध्ये दुई जनाको नाममा थुनछेक आदेश जारी गरेको प्रहरी स्रोतले जनाएको छ ।

मालपोत अधिकृत चेतन अधिकारी, मोठ फाँटका सुब्बा हरि तिवारी, रजिस्ट्रेसन फाँटका सुब्बा चैतन्य घिमिरे, खरदार हेम शर्मा र कम्प्युटर अपरेट झलेन्द्र बराल विगत केही दिनदेखि कार्यालयमा उपस्थिती नभएको लेखापढी व्यवसायीहरु बताउँछन् । अन्य तिन जना घटनामा मुछिने डरले फरार भएको हुने सक्ने बताइएको छ ।

यता, कार्यालयमा अनुपस्थित कर्मचारी फरार नभई उनीहरू बिदा बसेको मालपोत तथा तथा भूमि सुधार कार्यालयका प्रमुख मालपोत अधिकृत योगेन्द्र दुलालले बताएका छन् ।

साबिक चारपाने गाविस–१ हाल बिर्तामोड नगरपालिका–१ अदुवा पुलस्थित पूर्व–पश्चिम राजमार्ग नजिकै स्वर्गीय टुंङगबहादुर बस्नेतको कित्ता नम्बर ४१८३ को एक कट्टा पौने १४ धुर जमिन बिर्तामोड नगरपालिका–७ निवासी रञ्जु राईलाई सो जमिन ८४ लाख ३७ हजार ५ सय रुपैयाँमा बिक्री गरेको मालपोतको स्रेस्तामा देखिन्छ ।

माई पूर्वका कनकाई, बिर्तामोड, अर्जुनधारा, मेचीनगर, भद्रपुर, बुद्धशान्ति, हल्दिबारी, कचनकवल र बाह्दशी गरी आठ वटा स्थानीय तहको जग्गा सम्बन्धी सबै काम मालपोत तथा भूमि सुधार कार्यालय झापा भद्रपुरले हेर्न गरेको छ । विभागले त्यसका लागि कार्यालयमा प्रमुख मालपोत अधिकृतदेखि कम्प्युटर अपरेटरसम्म ५३ जना कर्मचारी दरबन्दीमा खटाएको छ । तर, हाल कार्यालयमा करिब एक दर्जन कर्मचारी छैनन् । जग्गा प्रकरणमा मुछिएका पाँचसहित तीन जना मालपोत अधिकृत, अन्य केही कर्मचारी बिदामा बसेका छन् ।

कार्यालयमा पर्याप्त कर्मचारी नहुँदा एक दिनमा हुने काम चार दिन सम्ममा पनि नसकिँदा सेवाग्राही सास्तीसँगै हैरानी बेहोर्नु परेको छ । सेवाग्राही कमल राईले भने, जमिन रजिस्ट्रेसन पास गराउन आएको आज चार दिन भयो, अझै पनि काम सकिएको छैन । मालपोत अधिकृत नहुँदा एक दिनमा हुने काम चार दिनसम्म धाउनु परेको अर्को सेवाग्राही मञ्जु राजवंशीले बताइन् । ‘मैले बुझे अनुसार पाँच जना अधिकृत हुनु पर्नेमा अहिले एक जना अधिकृतले सबै काम हेरिरहेका छन्, त्यसैले गर्दा पनि कार्यालयको कामकाजमा ढिलासुस्ती भएको हो, उनल्े भनिन ।’

कार्यालय कर्मचारी नहुँदा दैनिक कामकाज प्रभावित बनेको स्विकार्दै प्रमुख मालपोत अधिकृत दुलालले भने, कार्यालयमा पाँच जना मालपोत अधिकृतको दरबन्दी रहेको छ । अहिले दुई जना अधिकृत मात्रै कार्यरत छन् । त्यसमा पनि एक अधिकृत बिदामा बसेका छन् । एक जना अधिकृतले सेवा दिइरहेको उनले बताए । साथै, प्रमुख मालपोत अधिकृत दुलालले बस्नेतको जग्गा प्रकरणमा कर्मचारीको कुनै दोष नरहेको दाबी गरेका छन् । ‘अदालतबाटै व्यक्तिको नाममा वारेसनामा आएपछि सोही अनुसार कर्मचारीले जमिनको रजिस्ट्रेसन पास गरेको हो,’ उनले भने, ‘कार्यालयका कर्मचारीलाई कसरी थाहा हुन्छ, को व्यक्ति सही वा गलत हो भनेर ? हामीले त अदालतको कागज अनुसार काम गरेका छौँ ।’