राज्यको निर्णय नमान्ने विर्तामोडका विद्यालय सञ्चालक बिरूद्ध उजुरी

भद्रपुर, १८ चैत्र । राज्यको निर्णय नमान्ने तथा बाल बच्चाको स्वास्थ्यमाथि खेलवाड गर्ने विर्तामोडका विद्यालय सञ्चालक बिरूद्ध उजुरी परेको छ ।

संघीय सरकारले वातावरण प्रदुषणका कारण बालबालिकाको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने भन्दै चैत्र १७ गतेदेखि २० गतेसम्मका लागि गरिएको पठनपाठन बन्द अवज्ञा गर्ने विर्तामोडका विद्यालय सञ्चालक बिरूद्ध उजुरी परेको हो ।

अभिभावकका तर्फबाट खेमराज ओली तथा शिक्षक कर्मचारीका पक्षबाट इच्छाराम निरौलाले विर्तामोड शिक्षा समिति, प्याब्सन, एन प्याब्सन र विद्यालय सञ्चालक एवम् व्यवस्थापन समितिले संघीय सरकारको निर्णय नमानेको, बाल बालिकाको स्वास्थ्य जोखिम बढाएको भन्दै कानुनी कारवाही चलाउन समेत माग गर्दै शिक्षा विकास समन्वय इकाई झापामा उजुरी दिएका हुन् ।

उजुरी बुझ्दै शिक्षा समन्वय अधिकारी राजकुमार विकले संघीय सरकारको निर्णय कार्यान्वयन गर्न स्थानीय सरकार जिम्मेवार हुनु पर्ने भन्दै नीति, नियम र निर्देशन पालनामा विर्तामोड सरकारको कमजोरी सच्चिने विश्वास व्यक्त गरेका छन् ।

यता विर्तामोड नगर शिक्षालाई प्याब्सन एन प्याब्सनको व्यानरमा केही स्वार्थी विद्यालय सञ्चालकले दुरूपयोग गरेकोले बाल बालिकाको स्वास्थ्य जोखिम बढेको स्थानीय अभिभावकको आरोप छ ।