फ्रान्सेली नागरिकसँग चेपाङ बालबालिकाको होली

—कुलप्रसाद काफ्ले

चितवन १५ चैत । रत्ननगरस्थित गामबेशीको चेपाङ संरक्षण केन्द्रका चेपाङ बालबालिकाले होली मनाएका छन् । केन्द्रलाई विगत आठ वर्षदेखि खाद्यान्न सहयोग गर्दै आएका फ्रान्सेली नागरिकहरूसँग चेपाङ बालबालिकाहरूले होली पर्व मनाएका हुन् ।

चेपाङ बालबालिकासँग होली मनाउन फ्रान्सेली नागरिकहरू मरी पल बेन्डट्टी, माइकल कोपाडो र निकोलस लिख्तनस्टाइगा चेपाङ संरक्षण केन्द्र पुगेका हुन् । बालबालिकासँग होली खेल्न पाउँदा एकदमै खुसी मिलेको उनीहरूले प्रतिक्रिया दिए । उनीहरूले सुरूमा बालबालिकालाई रङ दलिदिए । त्यसपछि बालबालिकाले पनि उनीहरूलाई रङ लगाएर होली मनाए । बालबालिकाले पनि एकआपसमा पिचकारी हान्ने र रङ दलेर होली मनाए। फ्रान्सेली नागरिकहरूले वर्षेनी सात देखि आठ लाख रुपैयाँसम्मको खाद्यान्न र स्टेशनरी सहयोग गर्दै आएका छन् ।

केन्द्रमा चितवन लगायत गोर्खा, धादिङ र मकवानपुरका चेपाङ बालबालिकाहरूले आश्रय लिइरहेका छन्। २०६९ सालमा स्थापना भएको गामबेशी चेपाङ संरक्षण केन्द्रमा हाल एक सय ४२ जना चेपाङ बालबालिका आश्रित छन् । केन्द्रमा कक्षा १ देखि सिभिल इन्जिनियरिङसम्म पढ्ने बालबालिका आश्रित रहेको केन्द्रका अध्यक्ष केपी किरण शर्माले जानकारी दिए । उनीहरूको सवै खर्च केन्द्रले नै जोहो गरेको उनले बताए ।