बैठक सञ्चालनका लागि अध्यक्ष मण्डलको मनोनयन

काठमाण्डौं ३ चैत । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठक सञ्चालनका लागि अध्यक्ष मण्डलका सदस्यहरुको मनोनयन गरेका छन् । प्रतिनिधिसभा नियमावली २०७५ को नियम १ को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरुको दलीय आधारमा मनोनयन गरिएको हो । सभामुख र उपसभामुखको अनुपस्थितिमा अध्यक्ष मण्डलका सदस्यहरुले संसद बैठकको अध्यक्षता गर्नेछन् । हरेक अधिवेशनमा सदस्यहरु हेरफेर हुन्छ । अधिवेशनका लागि मंगलवार सभामुख सापकोटाले मनोनित सदस्यहरुको नाम पढेर सुनाए ।

नेपाली कांग्रेसबाट डिला संग्रौला पन्त र मानबहादुर विश्वकर्मा मनोनित भएका छन् । नेकपा एमालेबाट राधाकुमारी ज्ञवाली, लालबाबु पण्डित र सोमप्रसाद पाण्डे मनोनित भएका छन् । माओवादी केन्द्रबाट रेखा शर्मा र जसपाबाट रेणु कुमारी यादव मनोनित भएका छन् ।

आजको बैठकले नेकपा एमालेका दोस्रो संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरेको छ । साथै रिक्त रहेका समानुपातिक पदमा मनोनित गरिएका सांसदहरुको नाम समेत बैठकमा जानकारी गराइएको थियो । प्रतिनिधि सभाको अर्को बैठक चैत ६ गते दिउँसो १ बजे बस्ने छ ।