एक तिहाई महिला पदाधिकारी अनिवार्य
काठमाडौं १ चैत । नेपाली कांग्रेसमा वडादेखि केन्द्रसम्मका सबै तहको नेतृत्वमा सभापति वा उप–सभापतिमध्ये एक पदमा अनिवार्य महिला हुनुपर्ने महिलाहरूले माग गरेका छन् । पार्टीको केन्द्रीय महिला विभागद्वारा दुई दिनसम्म संचालित वाग्मती प्रदेशस्तरीय महिला भेला तथा प्रशिक्षण कार्यक्रममा यस्तो निर्णय भएको जारी घोषणा–पत्रमा उल्लेख छ । पाँच बुँदे घोषणा पत्रमा पार्टी वडादेखि केन्द्रसम्मको सबै तहका समिति एवं संसदीय समितिमा एक तिहाई महिला पदाधिकारी अनिवार्य हुनुपर्ने माग गरेको उल्लेख छ ।
‘सहानुभूतिको ठाँउमा मात्र नभई हिस्सेदारीको पनि समय भएकाले हरेक ठाँउमा महिला विभागले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने भेलाबाट निर्णय गर्दै पार्टीको वडादेखि केन्द्रसम्मका सबै तहको नेतृत्वमा सभापति वा उप–सभापतिमध्ये एक पदमा अनिवार्य महिला हुनुपर्ने जोडदार माग गर्दछ’ घोषणा पत्रमा उल्लेख छ । बढ्दो महिला हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराधहरूमा संलग्न अपराधिहरूलाई कानुनको कठघरामा उभ्याउन नसक्नुले यस्ता अपराधिहरू राज्यबाट नै संरक्षित भएको स्पष्ट भएको घोषणा पत्रमा जनाइएको छ । दण्डहिनताको अन्त्यका लागि मौजुदा दण्ड व्यवस्थाको पुनरावलोकनका साथै मौजुदा कानुनको कठोर कार्यान्वयनका लागि भेलाले माग गरेको छ । यस्तै बालिकाहरूलाई उच्च माध्यमिक तहसम्मको निःशुल्क शिक्षाको सुनिश्चिताका पनि भेलाले माग गरेको छ ।
महिलाको प्रजनन् र प्रसुती स्वास्थ्य सेवालाई सर्वसुलभ तथा निःशुल्क भनिएता पनि पूर्णरुपले कार्यान्वयन हुन नसकेको औंल्याउँदै भेलाले वर्थिङ सेन्टरहरूलाई व्यवस्थित गरी मातृ शिशु मृत्यदर कम गर्न माग गरिएको विभागकी सचिव लक्ष्मी खतिवडाले जानकारी दिइन् । भेला पार्टी कार्यालय सानेपामा शनिबार र आइतबार चलेको थियो ।