वार्षिक साधारण सभा बहिष्कार

भद्रपुर १ चैत । नेपाल पूर्व प्रहरी सङ्गठन झापाको २६ औं वार्षिक साधारण सभालाई सङ्गठनका १५ वटै स्थानीय तहबाट आएका प्रतिनिधिहरूले बहिष्कार गरेका छन् । भद्रपुरमा आयोजित सभामा अध्यक्ष खेमराज कार्कीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन केवल औपचारिकतामा मात्रै सीमित भएको भन्दै सङ्गठनका साधारण सदस्यहरूले बहिस्कार गरेका हुन् ।

सङ्गठनका साधारण सदस्य याम आचार्यले कार्यसमितिले सङ्गठनमा आर्थिक चलखेल गरेको र हिसाब अपारदर्शी भएको भन्दै सभा बहिस्कार गरेको बताए । सङ्गठनका कचनकवल अध्यक्ष देउमान बुढाथोकीले केन्द्रीय समितिले सदस्यहरूको गणपूरक सङ्ख्या पुरा नगरी सभाको आयोजना गरेको भन्दै केन्द्रले सङ्गठनका सदस्यहरूको हित विपरीत विधान ल्याउँदा जिल्ला समितिले कुनै पहल गर्न नसकेको आरोप लगाए । झापामा २३ सय बढी साधारण सदस्य रहँदा ५० प्रतिशत भन्दा कम सङ्ख्यामा उपस्थित सदस्यहरू रहेको सभाको महत्त्व नहुने भन्दै वार्षिक साधारण सभा बहिस्कार गरेको सहभागी सदस्यहरूले बताएका छन् ।