अनुशासित र व्यवहारिक पत्रकार शर्माको निधन
काठमाडौं २८ फागुन । वरिष्ठ पत्रकार सुशील शर्माको निधन भएको छ । ६३ वर्षका शर्माको शुक्रबार अपरान्ह निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा हृदयघातबाट शर्माको निधन भएको हो ।
द राइजिङ नेपाल दैनिकबाट पत्रकारिता शुरु गरेका पत्रकार शर्माले लामो समय बीबीसी नेपाली सेवामा काम गरेका थिए । शर्माले बीबीसी सेवामा जानु अघि द काठमाण्डु पोष्ट हुँदै अंग्रेजी साप्ताहिक स्पटलाइटको कार्यकारी सम्पादकको रुपमा समेत काम गरेका थिए ।
सूचनाको गहिरो परीक्षण, तथ्यको जाँच र अध्ययनका आधारमा मात्र समाचार सम्प्रेषण गर्ने उनको निधनले नेपाली पत्रकारिता जगतले एकजना अनुशासित र व्यवहारिक पत्रकार अचानक गुमाएको छ । उनले नेपाल प्रेस इन्स्टिच्युटको तालिम संयोजक र नेपाल वातावरण पत्रकार समूहको सचिव भएर पनि योगदान गरेका थिए ।
झन्डै डेढ वर्ष पहिले ठूलो आन्द्राको शल्यक्रियापछि उत्पन्न जटिलताका कारण उनी नियमित उपचार गराइरहेका थिए । उनका श्रीमती, एक छोरा र बुहारी छन् ।