निर्वाचन एकमात्र निकास
भद्रपुर, २६ फागुन । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले वतर्मान देशको राजनीतिक निकास निर्वाचन बाहेक अन्य विकल्प नभएको बताएका छन् । आज झापाको विर्तामोडमा नेपाल प्रेस युनियन झापा शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै डा. कोइरालाले सो बताएका हुन् ।
डा. कोइरालाले भने, ‘सर्वाेच्चको फैसलाले एमाले र माओवादी अलग भएको छ । प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजिनामा नदिएकाले अब सदनबाट विश्वासको मत दिन पर्ने बाध्यता छ । माओवादीले समर्थन नदिएको खण्डमा यो सरकार ढल्छ । त्यसपछि विभिन्न राजनीतिक दलको समिकरणबाट सरकार बन्ने छ ।’
डा. शेखर कोइरालाले अगाडि भने, ‘संसद पूर्नस्थापना भएपनि अनिर्णयको बन्दी बन्न पुगेको छ । अब नेपाली कांग्रेस पर्ख र हेर भन्ने अवस्थामा छैन । सबै खाले राजनीतिक दलसँग छलफल गरेर निर्वाचन गराउने सरकार गठन गर्ने तर्फ लाग्ने छ । र चुनाव नै एकमात्र निकास हो त्यसको विकल्प छैन ।’ उनका अनुसार आगामी चैत २०७८ सम्ममा चुनाव गराउन सम्भव देखिने उनले बताए ।
आगामी अधिवेशनमा तपाईँ नेपाली कांग्रेसको सभापतिको उम्मेद्वार हो ? भन्ने संचारकर्मीको जिज्ञासामा सबै क्षेत्रका कांग्रेस कार्यकर्तासँग छलफल र केन्द्रिय समितिमा घनिभूत छलफल पश्चात मात्र निश्कर्षमा पुग्ने कोइरालाले बताए ।
डा. कोइरालाका साथमा केन्द्रिय सदस्य चन्द्र भण्डारी, गुरुराज घिमिरे, धनराज गुरुङ्ग, सरिता प्रसाई लगायतको उपस्थित देखिएकाले, के कृष्ण सिटौला पनि तपाईँको टिममा हुनुहुन्छ ? भन्ने संचारकर्मीको प्रश्नमा डा. कोइरालाले सिटौलाको आफ्नो टिमलाई समर्थन भएको बताउँदै तर सिटौला माथ्लो नेता भएकाले उहाँसँग छुट्टै कुरा गर्न जरुरी भएको बताए ।
यसै प्रशंगमा झापामा कांग्रेस कार्यकर्तासँग छलफल गर्न आएको बताउँदै डा. कोइरालाले भने, ‘झापा राजनीती क्षेत्रमा देशभरि कै बलियो र सशक्त भुमी हो । संविधान बनाउने नेता पनि झापा कै, संविधानलाई ध्वंश पार्ने नेता पनि झापा कै र फेरी संविधानलाई जोगाउने न्यायधिश पनि झापा कै हुन ।
प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षतामा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा केन्द्रिय सदस्य धनराज गुरुङ्ग र गुरुराज घिमिरेले मन्तव्य राख्दै देशको राजनीतिक स्थिती अत्यन्तै जटिल भएको बताए । यसलाई जोगाउन निर्वाचन एकमात्र उपाय भएको बताए ।