अहिलेको अवस्थामा काँग्रेसले नयाँ पुस्ता अगाडि बढाउँदैमा अब्बल बन्न सक्छ
सर्वोच्च अदालतको फैसलापछि नेपालमा विधिको शासन कायम रहेको सन्देश दिएको छ । मुलुक व्यक्तिको अहंकारले होइन विधिले चल्नुपर्छ भन्ने सन्देशका साथ सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्रीलेको दम्भबाट अपहरण भएको संविधानलाई अपहरण मुक्त गराएको छ । अहिलेको प्रमुख दायित्व संविधानको रक्षा गर्नु हो ।
वर्तमान संविधानका पक्षमा रहेका शक्तिहरू प्रधानमन्त्री बन्ने होडमा लाग्ने समय होइन । लोकतान्त्रिक व्यवस्थामाथि गिद्दे दृष्टि लगाउने प्रवृत्तिलाई निस्तेज गर्ने गरी दलहरूमा राष्ट्रिय एकता कायम हुनु आजको आवश्यकता हो । फेरि पनि ओली प्रवृत्तिलाई बोकेर हिँड्ने वा ओलीको बुइ चडेर अगाडि बढ्न खोज्ने हो भने उनले शासन सम्हालेदेखि नै उनीबाट भए÷गरेका असंवैधानिक कदमको विरोध गर्नुको औचित्य के रहला ? पदको लुछाचुँडीकै कारण विभाजित नेकपा वैधानिकरूपमा विभाजन नभएको अवस्थामा सरकारको नेतृत्व नेकपाबाहेक अरू दलको पोल्टामा पर्ने संभावना छैन ।
तैपनि नेकपाको दुई समूहबीच सतहमा देखिएको विवाद हेर्दा मिल्ने सम्भावना कमै देखिन्छ । यद्यपि, साख र जनविश्वास गुमाइसकेको नेकपाको नेतृत्वलाई विश्वास गरिहाल्ने अवस्था भने छैन । नयाँ सरकारको नेतृत्व हत्याउने होडमा उनै पुराना अनुहार दोहोरिन थालेका छन् । जसले गर्दा नेपाली जनतामा अहिलेको राजनीतिक व्यवस्थाप्रति नै वितृष्णा पैदा हुन थालेको छ ।
नेपाली जनताको मनोभावनाको कदर गर्दै केही नयाँ परिवर्तनको अनुभूति हुनेगरी युवा पुस्ताको नेतृत्वमा सरकार गठन गर्नेतर्फ लाग्ने हो भने बल्ल जनतामा लोकतान्त्रिक व्यवस्थाप्रतिको विश्वास बढ्न सक्छ । पुरानो पुस्ताले आफ्नै अभिभावकत्वमा नेतृत्व विकास र हस्तान्तरणको परिपाटी थालनी गर्न सकेमात्र लोकतान्त्रिक व्यवस्था संस्थागत हुन सक्छ । उमेरमात्रलाई परिपक्वता नमानेर क्षमता, अनुभव, गतिशीलता र लोकप्रियतासहितको क्रियाशील युवा नेतृत्वको सरकार मुलुकले खोजिरहेको देखिन्छ ।
पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनालले सरकार नेतृत्वका लागि कुनै लोभ लालच नराखी सक्षम तथा लोकप्रिय युवा प्रधानमन्त्री चयन गर्ने हो भने उनीहरूमाथि लागेको पदलोलुपको आरोप मेटिनेछ । नेपाली जनताले युवा प्रधानमन्त्री प्राप्त गर्नेछन् । देशले उन्नतिको बाटो पाउन सक्ने थियो । परम्परागत राजनीति भित्रका विकृति बिदा हुने थिए ।
नेकपा र मधेसकेन्द्रित दललगायतको समूहले नेपाली कांग्रेसको युवा पुस्तालाई प्रधानमन्त्रीको रूपमा स्वीकार्ने प्रस्ताव गरेमा कांग्रेसले कस्तो निर्णय लेला यो प्रतीक्षाको विषय भयो ।नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने परिस्थिति पैदा भएमा संसदीय दलको नेताको हैसियतले सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री हुन तयार होलान् तर अन्य दलबाट नेपाली कांग्रेसभित्र युवा प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव आयो भने कांग्रेस यस्तो अग्रगामी निर्णय लिनपछि हट्नु हुँदैन । राजनीतिक इतिहासको विभिन्न कालखण्डमा नेतृत्वमाथि लागेका पदलोलुपताका आरोप किनारा लगाउने उपयुक्त समय पनि यो अवसर हुनसक्छ ।
आफ्नो दलभित्र सक्षम, गतिशील, लोकप्रिय युवा नेतालाई अगाडि सारेर कांग्रेस नेतृत्वले जनभावनाको कदर गर्न सके आगामी दिन नेपाली जनताका लागि सुखद हुने अपेक्षा गर्न सकिन्छ । युवा प्रधानमन्त्रीको विषय उठान गर्दै गर्दा पाका नेताहरूमा इष्र्या पलाउन सक्छ । नेपालको परिवेशमा केही अपवाद छोडेर विभिन्न राजनीतिक दलको नेतृत्व सम्हालेका पाका नेताहरू मुलुकको प्रधानमन्त्री भइसकेका छन् । नेपाली जनताले तिनको कार्यक्षमता देखिसकेका छन् ।
पाका नेता प्रधानमन्त्री बन्न नै हुँदैन भन्ने त होइन तर अहिले नेपाली जनताको मनोभावना युवा नेतृत्वको खोजमा छ । जनताले प्रत्यक्षरूपमा परिवर्तनको अनुभव गर्न नपाएकै कारण यो व्यवस्थाप्रतिको आकर्षण पनि न्यून बन्दै गएको हो । ऊर्जावान युवा नेताको नेतृत्वमा देशले काँचुली फेर्न सक्ने विश्वास जनतालाई दिलाउँदै वर्तमान व्यवस्थाप्रति सकारात्मक सन्देश जाने गरी युवा नेतृत्वलाई अगाडि बढाउने हो भने जनतामा आशाको सञ्चार हुनसक्छ । मुलुकले युवा प्रधानमन्त्री पायो भने मुलुकमा आर्थिक क्रान्ति सुरु हुने संभावना बढ्छ । विदेशमा रहेको युवा श्रम शक्तिको आकर्षण आफ्नै मुलुकप्रति हुनसक्छ ।
दिनहुँ पलायन हुने श्रम शक्ति आफ्नै मुलुकमा रोकिन सक्छ । नेपालको भविष्य कृषि क्रान्तिले नै निर्धारण गर्नसक्छ । जोस, जाँगर र ऊर्जा भएका युवा नेतृत्वले नै कृषि क्रान्तिलाई सार्थक तुल्याउन सक्नेछन् । यतिबेला कांग्रेसका शीर्ष नेताहरू एकैठाउँमा बसेर गम्भीर छलफल गर्नुपर्छ । अहिले आन्तरिक किचलोमा लाग्ने समय होइन ।
लोकतान्त्रिक व्यवस्थालाई बचाउन पार्टीभित्रै आन्तरिक छलफल आवश्यक छ । गणेशमान सिंहको जस्तो त्यागको भावना नेतृत्व पंक्तिमा पलाउने हो भने लोकतान्त्रिक व्यवस्थामा कसैले वक्र दृष्टि लगाउन सक्नेछैन । लोकतन्त्र रहेमात्र मुलुकको शासनसत्तामा नेपाली कांग्रेसको नेतृत्व रहिरहन सक्छ । काँग्रेसको नेतृत्वमा चेतना हुने हो भने अहिले सत्तामा नगएर नेकपाको भाँडभैलोको रमिते मात्र हुँदा काँग्रेस लोकप्रिय पार्टी बन्न सक्छ ।