निर्णायक तहमा युवा नेतृत्वको माग

काठमाण्डौं । युवालाई राजनीतिमा अवैतनिक म्यादी प्रहरीका रुपमा मात्र उपयोग नगरी नीति निर्माणको निर्णायक तहमा पनि पु¥याइनुपर्नेमा नेपाली काँग्रेसका युवा नेताहरुले जोड दिएका छन् । बिपी कोइराला युवा नेतृत्व विकास मञ्चले आज राजधानीमा आयोजना गरेको ‘प्रजातन्त्र प्राप्तिका सात दशक, नेपाली काँग्रेस, नीति, नेतृत्व, सङ्घर्ष र युवा पुस्ता’ विषयक विचार विशेष बहस कार्यक्रममा उनीहरुले युवालाई व्यवस्था परिवर्तनको आन्दोलनमा प्रयोग गर्ने र सफलतापछि बिर्सने परिपाटीको अन्त्य गरिनुपर्नेमा जोड दिएका हुन् ।

पूर्वमन्त्री एवं काँग्रेस केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडूले अबको महाधिवेशनले पार्टीको नेतृत्व तहमा युवालाई स्थापित गर्ने उल्लेख गर्दै नेतृत्वको जिम्मेवारी बहन गर्ने गरी युवा पुस्ता तयार हुनुपर्ने बताए । नेता गुरुराज घिमिरेले संयुक्त राष्ट्र सङ्घले नै जारी गरेको प्रतिवेदनमा विश्वका दुई तिहाई मुलुकमा राजनीतिक परिवर्तन युवाका कारण हुने गरेको बताउँदै आन्दोलन सफल भएपछि भने वास्ता नगर्ने गरेको धारणा व्यक्त गरे ।

मञ्चका अध्यक्ष नीलकण्ठ रिजाललगायत विभिन्न पेशा र व्यवसायमा आबद्ध युवाले सबै क्षेत्रमा युवाको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए ।