आँखा अस्पतालको सेवा केन्द्र गौरीगंजमा
गौरीगंज । विर्ता ज्योती आँखा अस्पतालको सेवा केन्द्र गौरीगंजमा विधिवत सञ्चालनमा आएको छ । गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले गौरीगंज गाउँपालिका वार्ड नं. ३ स्थित गेउरिया पुल पुर्वमा रहेको उपचार केन्द्रको रिवन काटेर उद्वघाटन गरे ।
गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि बाबुराजा श्रेष्ठले गौरीगंज गाउँपालिकामा आँखा उपचार केन्द्रको स्थापना हुनुलाई गौरीगंजवासीले अवसरको रूपमा लिनु पर्ने बताउदै उपचार केन्द्रलाई सबैले साथ र सहयोग गर्नुपर्ने बताए । यस उपचार केन्द्रमा आँखाको सामान्य उपचार देखि शल्यक्रिया सम्मको सेवा सुविधाको व्यवस्था गरेर आँखाको विरामीलाई स्वास्थ्य विमा मार्फत उपचारको वातावरण मिलाउनु पर्ने अध्यक्ष श्रेष्ठको सुझाव थियो ।
उद्वघाटन कार्यक्रममा वार्ड नं. ३ का अध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि मखना महतोले विर्ताज्योती आँखा उपचार केन्द्र गौरीगंजमा स्थापना हुनु गर्वको कुरा भएको बताउदै उपचार केन्द्रलाई स्थायित्व बनाउन वार्ड कार्यालयले सक्दो सहयोग गर्ने प्रतिवद्वता जनाए ।
आँखा उपचार केन्द्रको औपचारिक रुपमा आज उद्घाटन गरिए पनि, यसले माघ ५ गतेबाट अस्पतालले आफ्नो सेवा दिन थालको थियो । आँखा उपचारका लागि गौरीगंजलगायत भारतको विहार राज्यबाट आखाँका विरामीहरू आउन थालेका छन् । अस्पतालले सेवा शुरू गरेको हप्ता दिनसम्म निःशुल्कमा ओपिडी सेवा तथा औषधि खरिद र आखाँ अप्रेशनमा २० प्रतिशत छुट दिएको अस्पतालका सञ्चालक मोती बरालले जानकारी गराएका छन् ।
विर्तामोड आँखा अस्पतालल चारपाने विर्तामोडको सहकार्य र विर्ता ज्योती आँखा अस्पताल दमकको प्राविधिक सहयोगमा गौरीगंजमा पहिलो पटक आफ्नो सेवा केन्द्र विस्तार भएको अस्पतालका प्रशासन शाखाका अधिकृत सुनिल दाहालले बताए । उनका अनुसार अस्पतालमा दैनिक १ सय भन्दा वढी आँखाका विरामीहरू आउने गरेको छ ।
उद्वघाटन कार्यक्रममा वार्ड नं. ४ का अध्यक्ष कुलप्रसाद गिरी, स्वास्थ्य प्रमुख रामचन्द्र मिश्र, गौरीगंज ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राकेश रेग्मी, जनार्धन आचार्यलगायतले बोलेका थिए । डा. राकेश प्रधानको अध्यक्षतामा भएको उद्वघाटन कार्यक्रममा उद्योग वाणिज्य संघ गौरीगंजका सचिव श्रवण गिरी, कांग्रेस महासमिति सदस्य घनश्याम रिजाल, वडा अध्यक्ष वद्रीनारायण यादवलगायतको सहभागीता थियो । कार्यक्रमको सञ्चालन विनोद दाहालले गरेका थिए भने उपचार केन्द्रका सञ्चालक मोती दाहाल, कर्ण राउतलगायतको विशेष सहयोग रहेको थियो ।